पैसा भरिएको ब्रिफकेस देखाउँदै दलालले भन्यो- ‘सरोगेसीको समाचार नलेख’
सरकार नै दलालको प्रभावमा परेर भाडाको कोखबाट जन्माइएका शिशुको तस्करीकै झल्को दिने धन्दालाई वैधता दिलाउन लागिपरेको थियो।
“तिम्लाई कोख भाडामा लगाउने आमाहरूबारे थाहा छ?” सहकर्मी चूडामणि भट्टराईले सोध्नुभयो। नेपाल म्यागजिनको समाचार कक्षमा रिपोर्टिङहरू प्रस्ताव गरिंदै थिए। “यही विषयमा केही खोज्न पो सकिन्छ कि?” भट्टराईले भन्नुभयो।
मेरा लागि बिल्कुलै नयाँ विषय थियो सरोगेसी, सुन्नासाथ खुल्दुली लागिहाल्यो। युवा उमेर- गहन खालका रिपोर्टिङ गर्नुपर्छ भन्ने जोश थियो। खोजी शुरू गरिहालें। काठमाडौं जिल्ला अदालतमा सरोगेसीबाटै जन्मिएकी नौ वर्षीया बालिकाको कानूनी हैसियतलाई लिएर मुद्दा चलिरहेको रहेछ। वादी-प्रतिवादी रहेछन्, उज्ज्वलशमशेर राणा र पत्नी शाम्भवी।
शाम्भवी ती बालिकालाई वंश मानिरहेकी थिइनन्। आफ्नै कोखबाट नजन्मिएकाले अंश दिन पनि अस्वीकार गरिरहेकी थिइन्। उज्ज्वल भने अरूको कोखबाट जन्माए पनि वीर्य आफ्नै रहेकाले सन्तान सरह अंश दिनुपर्ने अडानमा थिए।
यही मुद्दाको फेरो समात्दै जाँदा म ‘सरोगेसी’ को यस्तो गैरकानूनी जालोसम्म पुगें, जो भुसको आगोसरि सल्किरहेको रहेछ। काठमाडौंका निःसन्तान दम्पती कोख भाडामा लिन भारतसम्म पुग्दा रहेछन्। राणा दम्पतीले पनि त्यसै गरेको थियो। यसका लागि उनीहरूले नगरकोटी थरकी महिलालाई पैसा दिएर मनाएका रहेछन्।
अर्काका लागि बच्चा जन्माइदिने महिला सहजै पाइने भएकाले धेरै देशका निःसन्तान दम्पतीको गन्तव्य बनिरहेको थियो- भारत। शारीरिक रूपमा प्रजनन सम्भव नभएकाहरूसँगै बच्चा जन्माउँदा सौन्दर्य र ‘करिअर’ बिग्रने चिन्तामा रहेकाहरूले ‘सरोगेसी’ गराउँदा रहेछन्।
मैले पैसाका लागि कोख भाडामा लगाउन भारत जाने गरेकी एक नेपाली महिला पनि भेटें। कक्षा ३ मात्र पढेकी उनी नुवाकोटकी रहिछन्। भारतको गुडगाउँमा बसी अरूका लागि सन्तान जन्माइदिएर फर्किएकी रहिछन्। उनलाई यस्तै काममा संलग्न एक दलालका माध्यमले भेटेको थिएँ, परिचय गोप्य राखिदिने शर्तमा।
यी विवरण जुटिसकेपछि सरोगेसीको अन्तर्राष्ट्रिय अभ्याससँगै विभिन्न पाटा अध्ययन गरें। कानूनी पाटो बुझ्न अधिवक्ता सपना मल्ल प्रधानको सहयोग लिएँ। भोला रिजाल लगायत चिकित्सकसँग कुराकानी गरें। २०६७ पुसमा नेपाल म्यागजिनमा आवरण रिपोर्ट छापियो- ‘भाडामा कोख’।
त्यति वेला यो विषय धेरैका निम्ति नौलो थियो। ‘यस्तोसम्म हुँदो रहेछ है’ भन्ने आशयका पाठकपत्र निकै आए। सरकारीसँगै स्वास्थ्य व्यवसायका मानिस कतिपय यसको विरोधमा देखिए। मेरो ध्यान चाहिं यसमा निहित सन्तानप्राप्तिको लौकिक अभीप्सा र संवेदनाभन्दा त्यसका आडमा मौलाइरहेको अवैध धन्दामा केन्द्रित थियो। तर समाचार छापिइसक्दा पनि मलाई यो विषय कतिसम्म तन्किन्छ र गाम्भीर्य कति हो, थाहा थिएन।
त्यही वेला भारत सरकारले ‘सरोगेसी’ मा कडाइ गर्यो। तब यो धन्दा चलाइरहेका इजरायली तथा भारतीय एजेन्सी नेपाल आए। मैले एउटा स्रोतबाट यो खबर त पाएँ तर लेख्न पुग्ने प्रमाण जुटिरहेको थिएन। खोज्दै जाँदा बिस्तारै रहस्य खुल्दै गए।
एक पटक अर्कै कुनै कामले परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग पुगेको थिएँ। एक इजरायली नागरिक त्यहाँका अधिकारीसँग चर्काचर्की गरिरहेका थिए। पछि बुझ्दा ती व्यक्ति सरोगेसी मार्फत जन्माएको बच्चा लैजाने कानूनी प्रक्रिया मिलाउन आएको तिनै अधिकारीबाट थाहा पाएँ। सरोगेसी गैरकानूनी रहेको र सञ्चार माध्यममा एकपछि अर्को समाचार पनि आइरहेकाले कर्मचारीहरू पहिले जसरी सरासर प्रक्रिया मिलाइदिन हच्किएका थिए।
तर परराष्ट्रमा देखेको त्यो घटनाले नेपाल विदेशीका लागि सरोगेसीको हब बनिरहेको प्रस्ट संकेत गर्थ्यो। यसका लागि भारतबाटै महिलाहरू झिकाइन्थे। यी सबै कुरा समेटेर २०७० सालमा अर्को रिपोर्ट लेखें- भाडाका आमा नेपालतिर।
अब मैले सरोगेसीमा ठूलै लगानी र साँठगाँठ रहेको थाहा पाइसकेको थिएँ। यो धन्दा चलाउन डिम्ब ब्यांक, वीर्य ब्यांक, आईभीएफ सेन्टर (टेस्टट्यूब मार्फत भ्रूण हुर्काउने प्रविधि)देखि स्वास्थ्यकर्मीसम्मलाई लगानी गर्नुपर्ने हुन्थ्यो। बच्चा जन्माइसकेपछि अर्को देश लैजाने कानूनी प्रक्रिया मिलाउन ठाउँ ठाउँमा सरकारी कर्मचारीको सहयोग चाहिन्थ्यो। अर्थात्, धेरै निकायलाई हातमा नलिएसम्म धन्दा सफल हुनेवाला थिएन। यसका लागि ठूलै रकमको चलखेल भइरहेको थियो।
एजेन्सीले बच्चा चाहेकाहरूबाट मोटो रकम उठाउँथ्यो। जसको कोखमा भ्रूण हुर्काइयो, उसको भागमा भने निकै कम पर्थ्यो। धेरैजसो रकम बीचकैले खाइदिंदा रहेछन्। तिनले सरकारी निकाय र मन्त्रीहरूलाई प्रभावमा पारेर कानूनी छिद्र दुरुपयोग गरिरहेका थिए। यो धन्दालाई वैधता दिलाउन ‘लबिइङ’ थालेका थिए। राज्यका कतिपय संयन्त्र अन्जानमै तिनको ध्येयमा प्रयोग भइरहेथे। परराष्ट्र, कानून र स्वास्थ्य मन्त्रालयको संयुक्त प्रयासमा सरोगेसी सम्बन्धी निर्देशिका बनाएर मन्त्रिपरिषद्मा पेश समेत भयो। यिनै कुरा समेटेर २०७१ सालमा दोस्रो रिपोर्ट लेखें- भाडाका कोखलाई वैधता दिने प्रयत्न।
यो रिपोर्ट छापिएपछि गृह मन्त्रालयका एक पूर्व सहसचिवले मलाई थप समाचार नलेख्न आर्थिक प्रलोभन देखाए। अर्का एक जनाले एभरेस्ट होटलमा भेट्न बोलाए, ब्रिफकेसमा पैसा बोकेर आएका थिए। उनीहरू दुवैलाई मैले प्रमाण पाएसम्म समाचार लेख्न नछाड्ने जवाफ दिएँ।
समाचारको प्रभाव राम्रै पर्यो। ‘सरोगेसी’ लाई वैधता दिने प्रक्रिया रोकियो। समाचार छापिएपछि एक अधिवक्ताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। सोही रिटमा माग भए बमोजिम सर्वोच्चले मन्त्रिपरिषद्ले अघि बढाएको निर्देशिका रोक्न आदेश दियो।
भित्री धन्दा भने अझै चलिरहेकै थियो। यसबाट चिकित्सा-पर्यटन फस्टाउने तर्क गर्दै पक्षमा ‘लबिइङ’ गर्नेहरू छँदै थिए। यसमा अस्पताल सञ्चालक, केही डाक्टर र आईभीएफ सेन्टरको मशिन कारोबार गर्नेहरू पनि जोडिएका थिए। गाउँ गाउँमा कोख भाडामा दिने महिला खोज्ने दलालको बिगबिगी थियो। उनीहरूले यो काममा कस्ता महिला चाहिने भनी विज्ञापन नै गरेका थिए।
तीन वटा रिपोर्ट छापिइसक्दा पनि यो धन्दामा मुख्य गरी को को संलग्न छन् भन्ने खुट्ट्याउन कठिन परिरहेको थियो। फरक विषयको रिपोर्टिङमा हिंडेका वेला एक दिन वन विभागका कर्मचारीले सुनाए, “मेरा आफन्तको घरछेउ भारतीय जस्ता देखिने आठ-दश महिला बस्छन्, पेट ठूलो ठूलो छ, ती कोख भाडामा दिनेहरू पो हुन् कि!”
मैले तत्काल त्यो घरको ठेगाना मागिहालें। अनि भोलिपल्टै पुगें, बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नम्बर १। त्यो विदेश बस्ने पूर्व जर्नेलको घर रहेछ। हरेक बिहान झोलामा दुइटा टिसर्ट राखेर त्यो घर वरपर टहल्थें। मान्छेलाई शंका नपरोस् भनेर एक-दुई पटक हिंडेपछि टिसर्ट फेर्थें। त्यत्तिकै उभिंदा प्रधानमन्त्री निवासका गार्डले सिठी फुकिहाल्थे।
घरअघि पसलहरू नभएकाले अलमलिने बहाना पनि थिएन। त्यसैले अलिक वर चोकको पसल गएर चुरोट सल्काउँथें। अनि सर्को तान्दै फेरि त्यही घरतिर लागिहाल्थें। म चुरोटको अम्मली थिइनँ। तर कसैले नियालिरहेको रहेछ भने चुरोट किन्नकै लागि गएको भान परोस् भनेर यसो गरेको थिएँ। यसै गरी चार दिन बिते।
एक चोटि त्यो घरबाट सानो केटो निस्कियो। बाटो सोध्ने बहानामा ऊसँग केही गफ गरें। उसले खास घर भारत रहेको र अहिले चाहिं यहाँ बस्ने गरेको सुनायो। कुरैकुरामा आफ्नी आमा गर्भवती रहेको पनि बतायो।
स्रोतले मलाई त्यो घरबाट बोलेरो ब्रान्डको कालो रङको जीपले केही महिलालाई ओसारपसार गर्ने गरेको सूचनासँगै त्यसको नम्बर पनि दिएको थियो। तर त्यो गाडी कहाँ जान्छ र कुन दिन आउँछ पत्तो थिएन। मैले एक-दुई ट्राफिक प्रहरीलाई बुझिदिन आग्रह गरें।
त्यो घर नजिकै पानीको जार पसल थियो। भारतीय एजेन्टले पसल सञ्चालकलाई समेत कोख भाडामा दिने महिला खोज्न लगाइसकेको रहेछ। मैले उनको मन चोर्न जानाजान त्यो प्रसंग निकाल्दै आफूसँग पनि यस्तो काममा इच्छुक एक महिला सम्पर्कमा रहेको सुनाएको थिएँ। त्यसपछि त उनैले मलाई भारतीय एजेन्टसँग फोनमा गफ गरायो। एजेन्टले भेट्न चाहेन, कुरामै झुलाइरह्यो। उनैले भेटाएको अर्को एजेन्टले पनि त्यसै गर्यो।
पछि इजरायलीसँग दोभासेका रूपमा काम गर्ने एक व्यक्तिसम्म पुगें। उनले जमलस्थित ग्रान्डी सिटी अस्पतालमा इजरायलीहरू ‘आईभीएफ’ सेवा लिन आउने गरेको जानकारी दिए। मैले अस्पताल सञ्चालक रूपज्योति श्रेष्ठसँग अन्तर्वार्ता गरें। उनले सरोगेसी ठीक रहेको तर नेपाली समाजले यसलाई नबुझेको तर्क गरे। यद्यपि नेपालमा सरोगेसी गराउन महिला कसले खोज्छ, यसमा को को संलग्न छन्, विदेशी दम्पती कस मार्फत आउँछन् भन्नेमा अनभिज्ञता दर्शाए।
अन्तर्वार्ता सकेर निस्कँदा अस्पतालको पार्किङमा त्यही कालो रङको बोलेरो जीप देखें। अब मलाई भरपर्दो लिंक भेटे जस्तो भयो। केही बेरपछि जीपमा महिलाहरू चढे। म बाइकमा पिछा गर्दै गएँ। तर त्यो बालुवाटार नभएर बसुन्धराबाट टोखा हुँदै नुवाकोट जाने बाटोनिरको एउटा घरमा छिर्यो। मैले त्यही घरअघिको पसलमा चुरोट सल्काउँदै निष्कर्ष निकालें- एजेन्टले सरोगेट आमाहरू राख्न विभिन्न ठाउँमा घर भाडामा लिएका रहेछन्।
केही दिनपछि ग्रान्डी अस्पतालको छेउमा पनि त्यस्तो घर रहेको पत्ता लगाएँ। ‘सरोगेट’ आमालाई सुरक्षा दिन भारतीयले राखेका ‘बाउन्सर’ ले नै त्यो सूचना दिएका थिए।
त्यही क्रममा इजरायली कम्पनीको नेपाली एजेन्ट मार्फत एक इजरायली दम्पतीसँग सम्पर्क भयो। पार्क भिलेज होटलमा बसेका उनीहरूले बच्चा लिन ६० लाख रुपैयाँ खर्चिएका रहेछन्। एक भारतीय ‘सरोगेट’ आमासँग पनि अन्तर्वार्ता गरें, ग्रान्डी सिटी क्लिनिकमा भेटेको थिएँ। पैसाका लागि कोख भाडामा लगाउनुपरेको विवशता सुनाउँदै उनले मसँग एक पटक आफूले जन्माएको बच्चाको मुहार हेर्ने इच्छा व्यक्त गरिन्। यसको मतलब बच्चा जन्माउनेलाई एक चोटि हेर्नसम्म दिइँदो रहेनछ।
यही मेसोमा मैले दरबारमार्गमा सरोगेसी एजेन्सीको कार्यालय रहेको खबर पाएँ। तर यो काम छद्म रूपमा हुने भएकाले सूचना निकाल्न सहज थिएन। तैपनि सरासर त्यहाँ छिरें। चौकीदार परबाट ‘के हो भाइ’ भन्दै आए। मैले टाढैबाट ‘यो कम्प्युटर पसल होइन?’ भन्दै उनलाई अलमल्याउन खोजें। उनी आइपुग्दा-नपुग्दै मोबाइलबाट भित्तामा झुन्ड्याइएको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता प्रमाणपत्रको फोटो खिचिसकेको थिएँ। रजिस्ट्रारको कार्यालयमा बुझ्दा त्यो एजेन्सी सप्तरीका सामान्य व्यक्तिको नाममा दर्ता रहेछ। पछि त्यसमा ठूलो व्यवसायी घराना जोडिएकोसम्म थाहा पाएँ। तर बलियो प्रमाण नहुँदा लेख्न सकिनँ।
यसबीच जुटेका अन्य प्रमाण र विवरणका आधारमा २०७२ भदौमा निष्कर्ष रिपोर्ट लेखें- काठमाडौंमा कोख कारखाना : एक अर्ब २० करोडको कारोबार। यो रिपोर्ट छापिएको १० महीनापछि सर्वोच्च अदालतले २०७३ असारमा ‘परोपकारी सट्टा आमा सम्बन्धी’ सेवा कानून बनाएर मात्र सञ्चालन गर्न १५ बुँदे निर्देशनात्मक आदेश दियो। मन्त्रिपरिषद्ले पनि ‘सरोगेसी’ गर्न नपाइने निर्णय गर्यो।
मैले अहिलेसम्मको पत्रकारिता यात्रामै सबैभन्दा धेरै पछ्याएको प्रकरण हो, सरोगेसी। साथीहरू यसलाई गुप्तचर शैलीको रिपोर्टिङ भन्दै ठट्टा गर्थे। हुन पनि ६ वर्षको बीचमा छापिएका यी प्रत्येक रिपोर्टमा एकपछि अर्को घटना उजागर भएका छन्। तर यो सबै गर्न सहज पक्कै थिएन। शुरूमा त कोही बोल्नै मान्दैनथे। बोल्न माने पनि पहिचान खुलाउन चाहँदैनथे। उनीहरूसँग पत्रकारकै परिचयमा भेट्दा कुरा लुकाउने जोखिम हुन्थ्यो। सूचना फुत्काउनकै लागि फरक फरक नाममा तीन-चार वटा इमेल आइडी बनाएको थिएँ। सरोगेसी धन्दामा नेपालसँगै भारत, इजरायल, अस्ट्रेलिया र खाडी देश पनि जोडिएकाले त्यहाँका सम्पर्क व्यक्तिहरूसँग फरक नाममा इमेल संवाद गर्नुपर्थ्यो।
त्यति वेला सरोगेसी नै नयाँ विषय भएकाले नेपाली भाषामा यसलाई कसरी बुझाउने भनी शब्द शब्दमा ध्यान दिएका थियौं। तर अहिले आफ्नै चेतनास्तर बढेको हो वा के हो, धेरै शब्द परिमार्जन गर्नुपर्ने रहेछ जस्तो लाग्छ। जस्तो- भाडाका आमा, सट्टा आमा जस्ता शब्द राख्न हुन्नथ्यो कि?
उर्वर संगत
मैले पत्रकारिताको शुरूआतदेखि नै राम्रो प्रशिक्षण, संगत र वातावरण पाएँ। त्यसले मलाई सधैं राम्रा र खँदिला रिपोर्टिङ गर्न प्रेरित गरिरह्यो। अग्रज पत्रकार किशोर नेपालको संगतबाट शब्दभण्डार बढाउने र लेखनकला तिखार्ने ज्ञान पाएँ। उहाँसँग सेन्टर फर प्रोफेशनल जर्नालिज्म सेन्टर (सीपीजेएस)मा झन्डै ६ वर्ष काम गरें। त्यहाँबाट मत-अभिमत नामक टेलिभिजन कार्यक्रमसँगै रेडियो कार्यक्रम सञ्चालन, मासिक जर्नल प्रकाशन र मिडिया अनुसन्धानका काम हुन्थे। नेपाल भन्नुहुन्थ्यो, “केटा हो, ब्यांक खाता खोल्न पनि एक हजार रुपैयाँ चाहिन्छ, तिमीहरूसँग त त्यही एक हजार शब्द पनि छैन। शब्द र ज्ञान बढाउन पत्रकारले धेरै पढ्नुपर्छ। मान्छे भेटिरहनुपर्छ। भाषाको सीप नहुने पत्रकारले गरिखाँदैन है।”
हामी रिपोर्ट तयार पारेर उहाँलाई बुझाउँथ्यौं। एकसरो पढिसकेपछि चित्त नबुझे ध्वार्र च्यातेर फोहोरदानीमा फाल्दै हप्काउनुहुन्थ्यो, “के लेखेको यस्तो? न भाषाको शिल्प छ न समाचारको एंगल?” हामी त्यही समाचार पटक पटक पुनर्लेखन गर्थ्यौं। हामी सिकारुको लेखन सुधार्न यो उपाय प्रभावकारी थियो।
मलाई बाल्यकालदेखि नै कि चित्रकार कि पत्रकार बन्छु भन्ने थियो। शुरूमा ललितकला पढ्न भर्ना भएँ। तर पछि पत्रकारितातिर मोडिएँ। पहिले चितवन पोस्टमा समाचार लेख्न थालें। निबन्ध, कविताहरू त्यसअघि नै छापिन थालेका थिए।
नयाँ पत्रिकामा पनि केही फिचर लेखें। मानिसहरूले ‘बाइलाइन’ याद गर्ने खालका काम चाहिं नेपाल म्यागजिनमै भएका हुन्। समाज कल्याण परिषद्मा मौलाएको भ्रष्टाचारबारे गरेको शृंखलाबद्ध रिपोर्टिङका लागि खोज पत्रकारिता केन्द्रले अनुसन्धानमूलक पत्रकारिता पुरस्कार दियो। सोही पुरस्कार अन्तर्गत बेलायत भ्रमण गरी त्यहाँका सञ्चारमाध्यम नियाल्ने अवसर समेत पाइयो।
मानवीय विषयका फिचर पनि निकै लेखें। नेपाल म्यागजिनमै गरेको भ्रूण हत्या सम्बन्धी अनि सशस्त्र समूहबीचको हतियारको व्यापार सम्बन्धी रिपोर्टले पनि राम्रै चर्चा पाए। त्यस्तै, बारादेखि सप्तरीसम्मका आठ जिल्ला घुमेर लेखेको ‘दक्षिण सर्दै उत्तर’ रिपोर्टले मधेशका बस्ती राजमार्गतिर सर्दा बढिरहेको जनसांख्यिक असन्तुलनको विषयलाई उठाएको थियो। मत-अभिमतमा काम गर्दा ७०-७२ जिल्ला घुमें। यसबाट मधेश किन असन्तुष्ट हुन्छ, जनजाति किन आन्दोलित भइरहन्छन्, थारूहरूमा किन विद्रोह सल्किरहन्छ भन्ने बुझ्न पाएँ।
यसबीच धर्मसन्तान बनाएर यूरोप पुर्याइएका तर जन्म दिने आमाबुबा खोज्दै वर्षौंपछि नेपाल आएकालाई परिवारसँग पुनर्मिलन गराउने, वैदेशिक रोजगारीको सामाजिक प्रभाव र संगठित मानव तस्करीको अन्तरदेशीय सञ्जाल आदि विषयमा पनि खोजमूलक रिपोर्टिङ गरें।
यो सिलसिला अहिले पनि चलिरहेकै छ। केही समयअघि पनि माओवादीको सशस्त्र द्वन्द्वकालीन गढ कसरी अवैध बाटो अमेरिका पठाउने थलो बन्दै छ भन्नेबारे कान्तिपुरमा लामो रिपोर्टिङ गरेको थिएँ।
भविष्य छ
पछिल्लो समय अन्य पेशा जस्तै पत्रकारिताबाट पनि साथीहरू पलायन भइरहेका छन्। तर इमानदारीपूर्वक काम गर्नेहरू दुःखी हुनुपर्छ जस्तो लाग्दैन। हाम्रै कतिपय साथी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रोजगार, अन्तर्राष्ट्रिय छात्रवृत्ति र फेलोशिप पाइरहेका छन्। त्यसैले यो क्षेत्रमा केही हुँदैन भन्ने निष्कर्षमा पुग्नुअघि आफैंलाई पनि निर्मम भएर हेर्नुपर्छ।
यसको अर्थ पलायन हुनेहरूले पत्रकारितामा देखाएका समस्या नजरअन्दाज गर्नुपर्छ भन्ने होइन। अन्य क्षेत्रका विकृति-विसंगतिलाई प्रश्न गर्ने पत्रकारिताले आफ्ना हकमा पनि त्यो देख्न सक्नुपर्छ र सुधार्दै पनि जानुपर्छ। सत्य के पनि हो भने पत्रकारिता संस्थागत हुन सकेकै छैन। धेरै पत्रकारले समयमा तलब र पदोन्नति दुवै पाउँदैनन्। पत्रकारिताको व्यावसायिकताले तान्ने भन्दा पनि रहर र परिस्थितिले आउनेहरू धेरै छन्। यद्यपि पत्रकारिता निरन्तर सुधारको बाटोमै छ। १० वर्षअघि र अहिलेको आफ्नै अनुभवले पनि म यो कुरा भन्न सक्छु।
अहिले पत्रकारितामा १०-१५ वर्ष लगातार काम गरिरहेको पुस्ता सानो छ। केही अग्रजहरूले ‘हामी त पत्रकार भएर बिग्रियौं बिग्रियौं, तिमी किन बिग्रन्छौ?’ भनिदिने प्रवृत्तिले पनि नयाँ पुस्ता निरुत्साह भएको हुन सक्छ। केही अग्रज विक्षिप्त हुँदा उनीहरू मार्गनिर्देशन पाइरहेका छैनन्। कोबाट के सिक्ने भन्नेमै अलमल छ।
म चाहिं यसरी अत्तालिनुपर्ने अवस्था छ भन्ने ठान्दिनँ। हो, काम गर्ने काइदा चाहिं सुधार्नुपर्ने हुन सक्छ। केही दिनअघि टेक पाना अनलाइनका सीईओ विजय तिमिल्सेनाले उकेरा अनलाइनसँगको कुराकानीमा ‘पत्रकारितामा अब झन् धेरै सम्भावना छ किनकि मानिसहरू सूचना विना एक पाइला चाल्दैनन्’ भनेका थिए। मेरो बुझाइमा सूचना मात्र भएर पुग्दैन, त्यसलाई राम्ररी विश्लेषण गरी प्रस्तुत गर्न जान्ने मान्छेको सम्भावना धेरै छ।
पछिल्लो समय यूट्यूब मार्फत धेरैले मल्टिमिडिया सामग्री पस्किरहेछन्। तिनलाई मानिसले रुचाएका पनि छन्। अबको चुनौती नयाँ पुस्ताका पाठक र दर्शकको मनोविज्ञान पहिचान गर्ने, कन्टेन्टलाई तिनले बुझ्ने भाषामा कसरी प्रस्तुत गर्ने भन्ने हो। त्यसरी बनाइएका कन्टेन्टमा पाठक-दर्शकको आकर्षण देखिनु पत्रकारितामा अझै पनि सम्भावना सकिएको छैन भन्ने संकेत हो। लेखनसँगै कथा भन्ने शैली र प्रविधि पनि सिक्दै जानुपर्छ। म पनि अहिले त्यही गरिरहेको छु।
(पत्रकार सापकोटासँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित। सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री: