बालकुमारी घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन
बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन्।
समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको प्रवक्ता भट्टराईले बताए।
कोरियाली भाषा सिकेर पनि ईपीएस परीक्षा फारम भर्न नपाएका युवाले पुस १३ गते बिहान ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
उनीहरूले प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेर तोडफोड गरेका थिए। त्यही क्रममा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।
प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको हो।