वनभोजमा रमाए सौरहाका हात्ती
सौरहामा पर्यटकको सत्कारमा खटिने हात्तीका लागि शुक्रबार अरू दिनभन्दा विशेष बन्यो। उनीहरूले वनभोज खाए।
सौरहाको मैनाचौरमा जारी १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८० को चौथो दिन हात्तीलाई वनभोज खुवाइएको हो। नियमित खाँदै आएका खानेकुरासँगै थप फलफूल, तरकारी खान दिएर वनभोज आयोजना गरियो।
सौरहामा रहेका ६० हात्तीलाई एक ठाउँमा राखेर उखु, गाजर, बन्दा, केरा, ड्रागन फ्रूट, खरबुजा, मेवा, स्याउ लगायत खानेकुरा दिइएको छ। हात्तीलाई मन पर्ने खानेकुरा खाएको अवलोकन गरेर र खानेकुरा खुवाएर स्वदेशी तथा विदेशी पर्यटक रमाए।
हात्तीको स्याहार, सुसार र सरसफाइको सन्देश दिन समेत महोत्सव आयोजना गरिंदै आएको छ। महोत्सवमा बिहीबार हात्ती सुन्दरी प्रतियोगिता आयोजना भएको थियो। निजी र सरकारी गरी ७० वटा हात्ती सहभागी प्रतियोगितामा सात हात्ती अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए।
हात्तीको सरसफाइ, शृंगार, हिंडाइ, आनिबानी आदिका आधारमा गरिएको मूल्यांकनमा सेल्फीकलीले उपाधि जितेकी थिइन्। रिमझिमकली दोस्रो र समृद्धिकली तेस्रो भएका थिए।
यस्तै, महोत्सवमा भएको डुंगा दौड प्रतियोगितामा खैरहनी नगरपालिकाको टोली पहिलो भयो। चितवनका सात वटै स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रो र माडी नगरपालिका तेस्रो भए। राप्ती नदीमा एक हजार ५०० मिटर दूरीको दौड प्रतियोगिता आयोजना गरिएको थियो।
निर्धारित दूरी १२ मिनेट ४५ सेकेन्डमा पार गरी खैरहनीको प्रतिनिधित्व गरेका होमबहादुर कुमाल पहिलो भए। त्यस्तै, १२ मिनेट ४६ सेकेन्डमा दूरी पार गरी रत्ननगरको प्रतिनिधित्व गरेका आइते तामाङ दोस्रो भए भने १२ मिनेट ४७ सेकेन्डमा दूरी पार गरी माडीको प्रतिनिधित्व गरेका दीपक बोटे तेस्रो भए।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपालको सहकार्यमा क्षेत्रीय होटल संघ नेपाल चितवनले आयोजना गरेको महोत्सव आयोजना गरेको हो। यो महोत्सव पुस १४ गतेसम्म सञ्चालन हुनेछ।