‘नमागी बाँच्न सकिंदैन, माग्न जाँदा मरिरहे जस्तो लाग्छ’
सदियौंदेखि मागेरै गुजारा चलाइरहेको नटुवा समुदाय सामाजिक रूपान्तरणको मार्गमा प्रवेश गर्न खोजिरहेको छ भने लोपोन्मुख जातिमा सूचीकृत गरेर रोजगारीको व्यवस्था गरिनुपर्ने आवाज उठाइरहेको छ।
गायन र वाद्यवादन गर्दै मागेरै गुजारा चलाउने समुदाय हो- नटुवा। तर माग्ने काम राम्रो होइन भन्ने पनि यो समुदायका अधिकांशलाई थाहा छ।
माग्न जाँदा सबैले गर्ने गाली र तिरस्कारले आफूहरूलाई सधैं लज्जित बनाउने गरेको कृष्ण नटुवा बताउँछन्। “सबै गाली पचायो। टाउको निहुर्यायो अनि माग्यो,” कृष्ण भन्छन्, “हामी जिउनका लागि माग्छौं। तर जब माग्न जान्छौं तब अलि अलि मरिरहे जस्तो लाग्छ।”
केही वर्षअघिसम्म उनी पनि माग्नै हिंड्थे। आजभोलि ज्यालामजदूरी गर्छन्। यसै वर्ष कक्षा १० उत्तीर्ण गरेका उनी दुई हजार रुपैयाँ नहुँदा प्रमाणपत्र लिन विद्यालय जान सकेका छैनन्। उनीसँग उच्च शिक्षा लिने सपना त छ तर उच्च शिक्षा पढ्न पैसा छैन।
बरु कोभिड-१९ महामारीका वेला आफ्नो समुदायका बालबालिकाको कपाल काट्दाकाट्दै उनले त्यही काम अलि अलि जाने। अहिले उनलाई कपाल काट्ने तालीम नै पाए पनि हुन्थ्यो भन्ने लाग्छ। हातमा कुनै सीप भए कमाउने बाटो खुल्थ्यो भन्ने उनको आशा छ।
माग्ने बाहेक आजभोलि नटुवा समुदायको नयाँ पुस्ताले बिहेमा बजाइने ब्रास ब्यान्ड मार्फत जीविकोपार्जन गर्दै आएको छ। तर यो मौसमी काम भएकाले दिगो आर्थिक उपार्जन हुन चाहिं सकेको छैन।
“खेती गर्न जमीन छैन। रोजगार गर्न सीप छैन,” समुदायका अगुवा अनिल नटुवा भन्छन्, “अनि नमागेर के गर्नु? तर हामीलाई सधैं मगन्ते भएर बाँच्न मन छैन।” अनिलले केही वर्षदेखि ब्यान्ड बाजा बजाउने काम गर्दै आएका छन्।
नटुवा समुदायका केही किशोर सदस्य बाहेक महिला, बालबालिका तथा मजदूरी गर्न नसक्नेहरू अहिले पनि माग्ने काममै संलग्न छन्।
को हुन् नटुवा समुदाय?
अनुसन्धाता सञ्जयकुमार पासीका अनुसार नटुवा समुदाय आफूलाई नाट्येश्वरको सन्तान मान्छ। फिरन्ते समुदाय भएकाले नाचगान गर्दै माग्दै यो समुदायले गुजारा चलाउँदै आएको थियो। नटुवा समुदायलाई नट, नेटुवा, नेटु पनि भनिन्छ।
नेपालका बारा, पर्सा र सर्लाहीमा यस्तै समुदायले आफूलाई नट भन्ने गरेका छन्। उनीहरू मुस्लिम धर्म मान्छन्। कपिलवस्तु र रुपन्देहीका नटुवा भने हिन्दू परम्परा मान्छन्।
उत्तरी भारतमा उत्पत्ति भएको मानिने यो समुदायका मानिस हिन्दी र अवधी भाषा बोल्छन्। विद्यालय गएको नयाँ पुस्ता नेपाली पनि बोल्छ, प्रौढलाई भने नेपाली बोल्न सकस नै हुने गरेको अध्येता पासी बताउँछन्।
नटुवा जाति ३०० वर्षभन्दा बढी समयदेखि कपिलवस्तु र रुपन्देही जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आइरहेको पासीको तर्क छ। आफ्नो पुस्तक पैदल अनुसन्धान : प्रयोग र उपलब्धिमा ‘नेटुवा जातिको फेरिंदो सामाजिक जीवन’ शीर्षकको लेखमा उनले नटुवा समुदायका सदस्यले माग्नका लागि लामो समय टाढा टाढा गए पनि बसोबासका लागि भने एकै स्थानलाई आधार बनाइरहेको उल्लेख गरेका छन्। उनीहरूले सार्वजनिक जग्गा, ऐलानी जग्गा वा जमीनदारको जग्गामा फुसको छाप्रो बनाएर बस्ने गरेका छन्।
नाचगान बाहेक नटुवा समुदायले सर्प समाउने र मह काढ्ने काम पनि गर्दै आएको छ। गाउँघरमा सर्प आउँदा नटुवा समुदायका सदस्यलाई बोलाएर सर्प नियन्त्रणमा लिन लगाइन्छ। त्यस बापत डेढ-दुई सय दक्षिणा र एक-दुई माना चामल सिधा दिइन्छ।
यद्यपि सर्प नियन्त्रणको काम गर्दा ज्यानै जाने जोखिम पनि छ। “मेरै मामालाई पोहोर सर्पले डसेर गोरुसिंगे लानुपर्यो। त्यहाँको अस्पतालमा उपचार गराएपछि धन्न उहाँको ज्यान जोगियो। तर खर्च निकै लाग्यो। यो त कसैले भरिदिंदैन,” कृष्ण बताउँछन्।
कृष्णको बसोबास रहेको शुद्धोधन गाउँपालिका-१, प्रगतिनगरमा नटुवा समुदायका १६ घरधुरी छन्। ऐलानी जग्गामा फुसको घरमा बस्दै आएको यो समुदायलाई सरकारले दलित भनेर वर्गीकरण गरिदिएको छ। तर यो समुदाय आफूलाई जनजाति भन्न रुचाउँछ।
लोपोन्मुख जातिमा सूचीकृत गर्न माग
नागरिक अधिकारकर्मी रामविलास चौधरी यो समुदायलाई राज्यले नागरिकता बाहेक अर्थोक केही नदिएको गुनासो गर्छन्। नटुवा समुदाय जस्तै पश्चिम तराईका विभिन्न जिल्लामा बसोबास गर्दै आएको सीमान्तीकृत समुदाय पत्थरकट्टालाई भने सरकारले लोपोन्मुख जातिमा वर्गीकरण गर्दै सामाजिक सुरक्षा बापत मासिक चार हजार रुपैयाँ भत्ता प्रदान गरिरहेको छ। चौधरीका अनुसार सिलौटा बनाउने समुदायका रूपमा चिनिने पत्थरकट्टाको सामाजिक-आर्थिक उत्थानमा सामाजिक सुरक्षा भत्ता महत्त्वपूर्ण सावित भइरहेको छ।
जनगणना २०७८ अनुसार लोपोन्मुख जातिमा सूचीकृत पत्थरकट्टाको जनसंख्या तीन हजार १८२ छ भने नटुवा समुदायको जनसंख्या दुई हजार ८९६ छ। तर नटुवा जाति लोपोन्मुखमा सूचीकृत छैन।
“हामी पनि पत्थरकट्टा जस्तै अल्पसंख्यक जाति हौं। जग्गाजमीन र रोजीरोटीको उपाय नभएकाले हामीलाई पनि सरकारले लोपोन्मुख जातिले पाउने सुविधा देओस् भन्ने हाम्रो माग हो,” कपिलवस्तुको अभिरावमा बसोबास गर्दै आएका प्रह्लाद नटुवा भन्छन्।
सरकारले कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम भएको जातिलाई अल्पसंख्यक जातिमा वर्गीकृत गरेर सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने गरेको छ। तर कुल जनसंख्याको ०.०१ प्रतिशत हाराहारी रहेको यो समुदाय अल्पसंख्यकमा सूचीकृत हुन सकेको छैन।
“हाम्रो पहलकदमी प्रभावकारी हुन नसकेर पनि सूचीकृत गर्न केही ढिलाइ भएको हुन सक्छ। हामीले मुख्यमन्त्री र राष्ट्रिय दलित आयोगका अध्यक्षसँग कुरा गर्दा सकारात्मक जवाफ आएको छ,” शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशचरण चौधरी भन्छन्, “आशा गरौं, आयोगको अबको बैठकमा यस विषयले पनि प्रवेश पाउनेछ।”
अध्यक्ष चौधरी वडा नम्बर १ र वडा नम्बर ३ मा नटुवा समुदायका बालबालिकालाई पढ्न प्रेरित गर्न पालिकाले प्रतिविद्यार्थी ५०० रुपैयाँ मासिक प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको बताउँछन्। “नटुवाको नयाँ पुस्तालाई सकेसम्म मगन्ते विगतबाट उठाएर सामाजिक रूपान्तरण गराउन हामी गम्भीर छौं,” चौधरी भन्छन्, “यो समुदायलाई लोपोन्मुख जातिमा दर्ता गराउन पनि गाउँपालिकाका तर्फबाट दलित आयोगमा पहलकदमी भएको छ।”
लुम्बिनी प्रदेशको औद्योगिक केन्द्र भैरहवा, बुटवल क्षेत्रमा रहेका उद्योग व्यवसायमा नटुवा समुदायका सदस्यलाई संलग्न गराउन सकिंदा पनि उक्त समुदायको जीविकोपार्जन सहज हुने देखिन्छ। प्रदेश योजना आयोगको २०७९ साउनको समीक्षा प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशमा पर्यटकीय होटेलको संख्या १५० भन्दा बढी छ, जसमा झन्डै आठ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। यसमा अधिकांश होटेल लुम्बिनी क्षेत्र आसपास छन्।
“लुम्बिनी क्षेत्रका होटल तथा उद्योगमा नटुवा समुदायका महिलालाई आबद्ध गराउन सकिंदा जीविकोपार्जन सहज हुने देखिन्छ,” गाउँपालिका अध्यक्ष चौधरी भन्छन्, “हामी त्यसका लागि पहल गरिरहेका छौं।”
नटुवा समुदायका व्यक्ति पनि कुनै आधार भए माग्ने काम गर्नुपर्दैनथ्यो भन्ने ठान्छन्। यसमा सरकारले सहजीकरण गरिदेओस् भन्ने उनीहरूको माग छ। “हामी आफ्नै केही काम गरेर खान चाहन्छौं, माग्न चाहँदैनौं,” नटुवा जातिको उत्थानका लागि खटिइरहेका अनिल नटुवा भन्छन्, “हामीलाई काम गर्ने वातावरण त सरकार र पालिकाले मिलाइदिनुपर्यो नि। हामीलाई मगन्ते भएर मर्ने रहर छैन।”
शिक्षा र स्वास्थ्य सेवा लिन पनि चुनौती
नटुवा समुदायका लागि रोजगारीसँगै शिक्षा र स्वास्थ्यको समस्या पनि ठूलो चुनौतीका रूपमा उभिएको छ। उनीहरूले भोग्दै आएको समस्यासँग परिचित रुपन्देहीकी पत्रकार अमृता अनमोल यो समुदाय राज्य र समाजबाट दोहोरो वञ्चितीकरणमा परिरहेको बताउँछिन्।
यो समुदायलाई विद्यालय शिक्षा अनिवार्य गर्न नटुवा बालबालिकालाई विद्यालयमै खाना तथा खाजाको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। “भोकै त कसरी पढ्न सक्लान् र?” उनी प्रश्न गर्छिन्।
“म प्रगतिनगरको एउटा नटुवा सदस्यको घरमा जाँदा सो समुदायकी महिलाले आलु र प्याज मात्रै पकाइरहेको देखें,” उनी नटुवा समुदायको नियतिबारे विस्तारमा भन्छिन्, “मैले के पकाउँदै हुनुहुन्छ भनेर सोध्दा उनले माग्न जाँदा यही पाइयो अनि यही पकाएँ भनिन्। आज भात पनि थोरै छ, अहिले बालबच्चा खान आउँछन् भन्दाभन्दै बरर्र आँसु झारिन्।”
यो समुदायमा महिला स्वास्थ्यको स्थिति पनि दयनीय छ। अधिकांश महिला फिस्टुला र स्त्रीरोगबाट पीडित छन्। तर आर्थिक अभाव तथा लाजका कारण उनीहरू उपचारका लागि जाँदैनन्। “एक हजार २०० को हाराहारीमा रहेको यो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने हो भने पनि धेरै राहत हुन सक्छ,” उनी भन्छिन्।