बालकुमारी झडपमा घाइते अर्का युवकको मृत्यु
ईपीएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा शुक्रबार बिहान भएको झडपमा घाइते अर्का युवकको पनि मृत्यु भएको छ।
झडपमा घाइते भएका डोटीका वीरेन्द्र शाहको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेरसिंह कडायतले बताए। पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको हो।
योसँगै बालकुमारीमा भएको झडपमा दुई जनाको ज्यान गएको छ। यसअघि जुम्लाका सुजन रावतको मृत्यु भएको थियो। घाइते भएपछि किस्ट अस्पताल पुर्याइएका रावतको केही बेरमै ज्यान गएको थियो।
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै केही युवाले शुक्रबार बिहान बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले चक्रपथमा अवरोध गरेका थिए। त्यही क्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।