नारायणगोपाल सम्झाउने बा.अ.म. ६४८
कुनै दिन थियो, काठमाडौंका सडकमा होन्डा मोटरसाइकल कुदाउँथे नारायणगोपाल। त्यही मोटरसाइकल फेरि उनको याद बोकेर जीवन्त भएको छ।
काठमाडौं महाराजगन्जस्थित ‘नारायणगोपाल संगीत कोष’ को आँगनमा अडिबसेको छ, नारायणगोपालको याद। उनका दौंतरी गीतकार नगेन्द्र थापा जब जब ‘बा.अ.म ६४८’ नम्बरको सीजी १२५ होन्डा मोटरसाइकल देख्छन् स्मृतिसागरमा हराउन पुग्छन्। “मेरा लागि ऊ हुनु जत्तिकै छ, यो मोटरसाइकल हुनु,” थापा भन्छन्।
भन्छन्- मानिसहरू बितेका दिन होइन, क्षण सम्झिबस्छन्। ती क्षण कोट्याइदिने बहाना पनि त चाहिन्छ। नगेन्द्रका लागि यो मोटरसाइकल यस्तै एउटा बहाना हो। नहोस् पनि किन, नारायणगोपालले एक दशकभन्दा बढी समय चलाएको यो मोटरसाइकलसँग शुरूदेखि नै जोडिएका छन् उनी।
यसै त नारायणगोपाल आफ्ना गीत जत्तिकै आफ्ना किस्साकहानीले प्रसिद्ध छन्। तीमध्येका अनेकौं किस्सा यही मोटरसाइकलसँग जोडिएका छन्। नगेन्द्रसँग मात्र होइन अरू थुप्रैसँग जोडिएका किस्सा। जस्तै, शम्भुजीत बास्कोटासँग।
“२०३९ सालतिर विश्वम्भर प्याकुरेल, कमलमान सिंह, नारायण दाइ र म दुई-तीन वटा बाइकमा पोखरा घुम्न निस्किएका थियौं। नागढुंगामा नै नारायण दाइको बाइक पन्चर भयो। त्यति वेला अहिले जस्तो जहाँतहीं बाइक बनाउने ठाउँ थिएनन्, अलि बेर कुरेर परबाट आएको एउटा ट्रक रोक्यौं। त्यसैमा त्यो बाइक हालेर, डोरीले बाँधेर करीब दुई किलोमिटरसम्म गयौं। नारायण दाइलाई जति वेला पनि ठट्टा गर्नुपर्ने। ट्रकमा त्यसरी बसेको वेला पनि ‘ल हेर शम्भु! यस्तो पनि समय आयो है’ भन्दै हाँस्नुभयो,” यादको पेटारी खोल्छन् शम्भुजीत।
यो घटना हुँदा नारायणगोपालको मोटरसाइकल कम्तीमा ६ वर्ष पुरानो भइसकेको थियो। जीवनको अन्तिम समयसम्म पनि उनले त्यही मोटरसाइकल हाँकिरहे। हाँक्न सिकाउने गुरु थिए- नगेन्द्र थापा।
नारायणगोपालभन्दा १० वर्षअघिदेखि नै मोटरसाइकल हाँक्न थालिसकेका थिए नगेन्द्रले। आफ्ना सोम (मित्र)को गुरु बन्न तयार भए उनी।
“त्यति वेला चार हजार ८०० रुपैयाँमा स्पोर्ट बाइक किनेको थिएँ, सोमलाई पहिलो पटक त्यसैबाट मोटरसाइकल चलाउन सिकाएको हुँ,” पुराना दिन सम्झिँदा उनको ओठमा मुस्कानका लहर दौडिन्छन्। मुसुक्क हाँस्दै सुनाउँछन्, “सोमलाई मोटरसाइकल सिकाउन धेरै दुःख गर्नै परेन। बाटो सबै खाली हुन्थ्यो। उनले सजिलै सिकेका थिए।”
त्यति वेला खासै भीड नहुने ठमेलको नरसिंह चोकमा मोटरसाइकल हाँक्न सिकेका थिए नारायणगोपालले। सिक्न त सजिलै सिके। तर मोटरसाइकल किन्न त्यति सजिलो थिएन। “मैले जस्तो सोच्नासाथ मोटरसाइकल खरीद गर्न सक्ने स्थिति उनको थिएन। मेरो त दाइ प्रधानमन्त्री हुनुहुन्थ्यो। आमासँग माग्दा मात्र पनि त्यति रकम त दिइहाल्नुहुन्थ्यो,” पञ्चायतकालमा र त्यसपछि पनि प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका भाइ नगेन्द्रले भने।
त्यति वेला नारायणगोपाल सांंस्कृतिक संस्थानको सञ्चालक समिति सदस्य थिए। संस्थानको कार्यालय थियो जमलमा। उनको घर महाराजगन्ज। सार्वजनिक बस र ट्याक्सी निकै कम कुद्ने त्यति वेलाको सडकमा निकै कुद्यो नारायणगोपालको मोटरसाइकल। त्यसो त रेडियो नेपाल, रत्न रेकर्डिङ संस्था, राष्ट्रिय नाचघर पनि धाइरहनुपर्ने भएकाले उनलाई मोटरसाइकल अत्यावश्यक भइसकेको थियो।
“त्यसमा उनको रहर पनि मिसिएको थियो,” नगेन्द्र थप्छन्, “तर अरूहरूले जस्तो रवाफिलो भएर कहिल्यै चलाएनन्। बरु मैले अलिक उत्ताउलो भएर कुदाएँ होला।”
काठमाडौंको सडकमा एक दशक कुदेको त्यो मोटरसाइकल फेरि जवान भएको छ। अनि उप्किएका छन् नगेन्द्रका स्मृतिहरू।
नारायणगोपालको निधन हुनुभन्दा एक वर्षअघिको प्रसंग सम्झिन्छन् उनी। बेलुका ४ बजेदेखि ७ बजेसम्म रत्नशमशेर, नगेन्द्र थापाहरू न्यूरोड पीपलबोटमा जम्मा हुने गर्थे। दुई-चार दिनदेखि एउटा दृश्यले भने उनीहरूलाई छक्क पारिरहेको थियो। उनी निरन्तर जसो न्यूरोड धाउने गरेको नगेन्द्रले देखेपछि साह्रै सकसक लागेर एक दिन नगेन्द्रले उनको पिछा गरे। देखे- नारायणगोपाल एउटा पसलमा पसे, एउटा पोको लिए र कतै लागे। र, एक ठाउँमा पुगेर मोटरसाइकल रोकीवरी त्यो पोकाको चिज कपाकप खान थाले।
आफ्नो मोटरसाइकललाई निकै प्रेम गर्थे नारायणगोपाल। “नारायण दाइले पछाडि राख्ने तर कुदाउन भने अरूलाई पटक्कै नदिने,” संगीतकार शम्भुजीत बास्कोटा सुनाउँछन्, “तर मैले एक पटक संयोगले कुदाउने मौका पाएको छु।”
फर्केर त्यो पसलेलाई सोध्दा नगेन्द्रले थाहा पाए- त्यो चिज त गुँदपाक पो रहेछ। नगेन्द्र चकित मात्र भएनन् दुःखी पनि भए। कारण- त्यति वेला नारायणगोपाललाई मधुमेह भइसकेको थियो। खुट्टा सुन्निएर पाउरोटी जस्तो हुन लागेको थियो। भोलि पल्ट नै नारायणगोपालकी पत्नी पेमलालाई ‘नारायणले विष खाइरहेछन्’ भनिदिए।
“यस्ता अनेक घटना छन्, जुन हामीले सँगै बितायौं। जुन कुरा आज मोटरसाइकलको सम्झना गर्दा याद आयो,” नरेन्द्र भावुक हुँदै भन्छन्, “नारायण बेडमा नथलिनुअघि, केही शारीरिक कठिनाइ हुँदासम्म पनि मोटरसाइकल कुदाउन भने छाडेनन्।”
जोडाका दिन थिए। काठमाडौंमा त्यति वेला अहिलेभन्दा निकै नै चिसो हुन्थ्यो। एउटा कार्यक्रमबाट फर्किंदा चिसोले हात कठ्यांग्रिएकाले नारायणगोपालले मोटरसाइकलको ह्यान्डल नै समाउन नसकेपछि शम्भुजीततिर फर्केर भने, “ल शम्भु, तँ हाँक्।”
“त्यसपछि फेरि मोटरसाइकल कुदाउन नारायण दाइले दिएको याद छैन,” हाँस्दै सुनाउँछन् शम्भुजीत।
“नारायण दाइ मोटरसाइकलको हर्न पनि लयमा बजाउनुहुन्थ्यो,” थप्छन् उनी। त्यति वेला शम्भुजीतको घर पानीपोखरीमा थियो। नारायणगोपाल हरेक शनिबार बजार गएर फर्किंदा उनको घरमुनि पुगेपछि हर्न बजाउँथे। “टि..टि...टिटिटि...टि.टि....टिटिटि बजाएपछि दाइ आउनुभयो भनेर तल झर्थें,” उनी सुनाउँछन्, “त्यस बाहेक पनि मैले पेमला भाउजूले गुलाबी शल लगाएर पछाडि बसेको र दाइले मोटरसाइकल हुइँक्याएको धेरै देखें। खूब रमाइलो लाग्थ्यो त्यो देखेर।”
अब त न नारायणगोपाल छन् न पेमला। तर उनका गीतहरूसँगै जीवित छ उनी बाँचेको युग। र, सम्झनाको साँघुका रूपमा थपिएको छ उनले हाँकेको मोटरसाइकल- ‘बा.अ.म ६४८’ नम्बरको सीजी १२५ होन्डा मोटरसाइकल।’