बालकुमारीको झडपमा एक युवकको मृत्यु
ईपीएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको झडपमा एक युवकको मृत्यु भएको छ।
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै केही युवाले शुक्रबार बिहान बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले चक्रपथमा अवरोध गरेर प्रदर्शन गरेका थिए। त्यही क्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए।
युवाको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरी परिचालन गरिएको थियो। त्यही क्रममा प्रहरीसँगको झडपमा घाइते भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको हो। दैलेख घर भएका रावत भक्तपुरमा बस्दै आएका थिए।
अचेत अवस्थामा रावतलाई किस्ट अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको किस्ट अस्पतालका कार्यकारी अधिकृत अमिष पाठकले बताए। “अचेत अवस्थामा रहेका युवकलाई १२ः४० बजे अस्पताल ल्याइएको थियो। उपचारका क्रममा १ः१७ बजे मृत्यु भएको छ,” पाठकले हिमालखबरसँग भने, “उनको छातीमा नीलो डाम छ।”
झडपमा अर्का एक जना गम्भीर घाइते भएका छन्। पाटन अस्पतालमा उनको उपचार भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए।
प्रदर्शन चर्कंदै गएपछि बालकुमारी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको एआईजी थापाले बताए।