मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
कोरियाली भाषा सिकेका युवाले परीक्षामा सहभागी नगराएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका छन्।
उनीहरूले कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै रोजगारी अनुमति प्रणाली (ईपीएस) कार्यालय अगाडि प्रदर्शन गरेका थिए। त्यही क्रममा ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्।
मन्त्री ज्वाला नेकपा (एकीकृत समाजवादी)को बैठकमा सहभागी हुन जाँदै थिए। उनलाई बालकुमारीमा रोकिएको थियो। उनी गाडीबाट बाहिर निस्केपछि प्रदर्शनकारीले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ।