तीन जिल्ला न्यायाधीशमाथि तीन विषयमा जाँचबुझ हुने
न्याय परिषद्ले तीन जना जिल्ला न्यायाधीशमाथि जाँचबुझ गर्ने भएको छ।
जिल्ला न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालामाथि तीन विषयमा जाँचबुझ हुने भएको हो।
न्यायाधीशत्रय माथि खराब आचरण वा आचारसंहिताको उल्लंघन, कार्यक्षमताको अभाव र इमानदारीपूर्वक कर्तव्य पालन नगरेको वा बदनियतपूर्वकको कामकारबाहीका विषयमा छानबिन हुन लागेको हो। उनीहरू विरुद्ध उजुरी परेपछि न्याय परिषद्का सदस्यले पनि छानबिन गरिसकेका छन्।
विस्तृत अनुसन्धानका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहेको जाँचबुझ समिति गठन भएको छ। समितिले राय सहितको प्रतिवेदन बुझाउन ३० दिनको समय पाएको छ।