वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश
उच्च अदालत, पाटनले यशोदा फूड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन तथा बिक्रीवितरण गर्न रोक लगाएको छ।
यशोदा फूड्सको करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्यापर (खोल) प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्ने मुद्दामा उच्च अदालत, पाटनले यस्तो आदेश दिएको हो।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले पुस ११ गते यशोदा फूड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न अन्तरिम आदेश जारी गरेको हो।
यशोदा फूड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेको भन्ने मुद्दा लिएर सीजी फूड्स अदालत गएको थियो। चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रिय जगत्मा समेत आर्जन गरेको ख्यातिलाई करेन्टले दुरुपयोग गरेको र उपभोक्तालाई झुक्याउने नियतले ट्रेडमार्क नक्कल गरेको सीजीको दाबी थियो।
अदालतले करेन्ट चाउचाउको वाइवाइ जस्तै देखिने ट्रेडमार्क आवेदनलाई समेत अघि नबढाउन उद्योग विभागलाई आदेश दिएको छ। करेन्टले आफ्नो उत्पादनको ट्रेडमार्क लिन विभागमा आवेदन दिएको थियो।