एमालेसँग सरकार बनाउन छलफलमा छौं : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका कारण प्रदेश सरकार अपूरो रहेको गुनासो गरेका छन्।
स्थानीय तहलाई चाहिने कानून कोशी प्रदेश सरकारले नरोकेको दाबी गर्दै उनले स्थानीय तहसँग थप समस्या भए आज हेटौंडामा हुने बैठकले निवारण गर्ने बताए। मुख्यमन्त्री कार्कीले संघीयताको मर्म अनुरूप बैठक बस्न लागेको र प्रदेशले स्थानीय तहसँग मिलेर जनतालाई कसरी सेवा दिन सक्छ भन्नेबारे सोचिरहेको पनि बताए।
कर्मचारी प्रशासनले जनतालाई उचित र समयमा सेवा प्रदान गरी सुशासन कायम गर्नुपर्ने, प्रदेशका एकल अधिकार र साझा अधिकारबारे मिहिन छलफल हुनुपर्ने, संविधान बनाउँदा वेला जसरी नै प्रदेशका अधिकारबारे एकमत हुनुपर्ने कार्कीले बताए।
मुख्यमन्त्री कार्कीले कोशीमा नेकपा (एमाले) सहितको सरकार बनाउने कुरा पनि छलफलमा भएको बताए। “एमालेसँग सरकार बनाउन छलफलमा छौं, पार्टीसँग सरकार समदूरीमा छ,” उनले भने।
सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला
हेटौंडामा आज संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुँदै छ। गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि पुनः हेटौंडामा बैठक हुन लागेको हो।
सातै प्रदेशका मुख्यमन्त्री भेला हुने बैठकमा संविधानमा व्यवस्था भएको तहगत अधिकारबारे छलफल हुनेछ। सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतीकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
बैठकमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानून निर्माण प्रक्रिया, वित्त/आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रबारे कार्यपत्र प्रस्तुत गरी छलफल हुनेछ।
कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघका पदाधिकारीहरूको पनि सहभागिता रहनेछ। मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रबार नै साझा प्रतिवेदन समेत अनुमोदन गर्ने कार्यक्रम छ।