प्रिमियम मूल्यमा शेयर बिक्रीको निर्णय सच्याउन बीमा प्राधिकरणलाई लेखा समितिको निर्देशन
संघीय संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा सर्वसाधारणलाई बिक्री गरेको शेयरको वैधानिकतामा प्रश्न उठाउँदै यो निर्णय सच्याउन निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले बीमा कम्पनीहरूलाई प्रिमियम मूल्यमा शेयर बिक्री गर्न नियामक संस्था नेपाल बीमा प्राधिकरणले दिएको स्वीकृति बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरीत भएकाले त्यसलाई सच्याउन प्राधिकरणलाई निर्देशन दिएको हो।
यसअघि चार बीमा कम्पनी र हिमालयन रिइन्सुरेन्सले प्रिमियम मूल्यमा सर्वसाधारणलाई शेयर बिक्री गरेका थिए। अंकित मूल्य १०० रुपैयाँका दरमा सर्वसाधारणलाई शेयर बिक्री गर्नुपर्नेमा यी कम्पनीले प्रिमियम मूल्यमा बिक्री गरेपछि त्यसको वैधानिकतामा प्रश्न उठेको थियो।
लेखा समितिले आफ्नो निर्णयमा लेखेको छ, “बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा (५) मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि बीमकले सर्वसाधारणबाट शेयर खरीदका लागि दरखास्त आह्वान गर्दा शेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने छ’ भन्ने व्यवस्था रहेको र बीमा कम्पनीहरूले कम्पनी स्थापना गर्दा नै ३० प्रतिशत शेयर सर्वसाधारणका लागि संरक्षित गरेको कारण अंकित मूल्यभन्दा बढीमा (प्रिमियम मूल्यमा) शेयर जारी गर्न अनुमति वा स्वीकृति दिन मिल्ने देखिंदैन।” ब्यांक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम ब्यांक तथा वित्तीय संस्थाको प्राथमिक शेयर निष्कासन गर्दा अंकित मूल्यमै जारी भइरहेको सन्दर्भलाई पनि समितिले आफ्नो निर्णयमा उल्लेख गरेको छ।
निर्णयमा भनिएको छ, “कम्पनीहरूलाई प्रिमियममा शेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरीत देखिएकोले सो कार्यलाई तत्काल सच्याउन समितिको यो बैठक नेपाल बीमा प्राधिकरणलाई निर्देश गर्दछ।”
बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर जारी गरेर रकम उठाइसकेकाले समितिको निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने विषय अन्योलमा परेको छ।
बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर जारी गर्दा कानून मिचिएको र सर्वसाधारणको अहित भएको विषयमा हिमालखबरले समाचार प्रकाशन गर्दै आएको छ।
आईएमई लाइफ इन्सुरेन्स, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, सन नेपाल लाइफ इन्सुरेन्स र सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियम मूल्यमा सर्वसाधारणलाई शेयर बिक्री गरेका थिए। हिमालयन रिइन्सुरेन्स कम्पनीले पनि १०० रुपैयाँ अंकित मूल्यको शेयरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २०६ रुपैयाँका दरमा सर्वसाधारणलाई शेयर बिक्री गरिसकेको छ।
यो पनि पढ्नुहोस्: