सन्दीपको बचाउमा उभिए चार वरिष्ठ अधिवक्ता
नाबालिका बलात्कारको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज पनि नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
बिहीबार लामिछानेको प्रतिरक्षामा खटिएका कानून व्यवसायीको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको हो। यसमाथि शुक्रबार बहस हुनेछ। सरकारी वकील र जाहेरवालाका वकीलले पुस ८ र ११ गते बहस गरेका थिए।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’ मा पर्दै आएको छ। अन्तिम फैसलाका लागि पुस ८ गते न्यायाधीश ढकालको इजलासमा पेशी तोकिएको थियो। त्यो दिन सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा परेको थियो।
त्यसपछिका दुई दिन सार्वजनिक बिदा भएकाले सुनुवाइ हुन सकेन। पुस ११ मा भएको सुनुवाइमा पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
बिहीबार लामिछानेको पक्षमा बहस गर्न जिल्ला अदालतमा वरिष्ठ अधिवक्ताको लर्को नै देखियो। वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्णप्रसाद सापकोटा, रमनकुमार श्रेष्ठ, सविता भण्डारी बरालले लामिछानेको प्रतिरक्षा गरेका थिए। श्रेष्ठले शुक्रबार समेत थप बहस गर्ने लामिछानेका वकील सरोजकृष्ण घिमिरेले हिमालखबरलाई बताए।
अधिवक्ताहरू मुरारि सापकोटा र रोशनी पौडेलले पनि लामिछानेको पक्षमा बहस गरेका थिए। अधिवक्ता घिमिरेका अनुसार शुक्रबार उनी सहित अधिवक्ता रामेश्वर न्यौपानेले बहस गर्नेछन्।
२०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका लामिछाने प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए। इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।
सर्वोच्च अदालतले यो मुद्दा चाँडो छिन्न आदेश दिएको थियो। तर एक वर्षभन्दा बढी समय बिते पनि फैसला आएको छैन। अहिलेसम्म यो मुद्दा ३६ पटक पेशी चढिसकेको छ।