धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन
संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ।
धितोपत्र बोर्डका अध्यक्ष हमालले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीलाई प्रिमियर मूल्यमा प्राथमिक शेयर निष्कासन अनुमति दिएको विषयमा समाचार प्रकाशन भएका थिए। सोही विषयमा छलफल गर्न लेखा समितिले अध्यक्ष हमाललाई बोलाएको थियो।
तर लेखा समितिको बिहीबारको बैठकमा अध्यक्ष हमाल उपस्थित भएनन्। यसमा पनि लेखा समितिले आपत्ति जनाएको छ। समितिको बैठकको निर्णयमा भनिएको छ, ‘आजको कार्यसूचीमाथि छलफल गर्न आमन्त्रण गरिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री रमेशकुमार हमाल विना सूचना, विना जानकारी समितिमा अनुपस्थित रहनुभएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ।’
यसलाई समितिले गैरजवाफदेह भनेको छ। ‘संसदीय समितिप्रतिको गैरजवाफदेहिता आमनागरिकप्रतिको गैरजवाफदेहिता र अपमान हो,’ समितिको निर्णयमा भनिएको छ, ‘सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्षको यस्तो गैरजवाफदेहिता आगामी दिनमा उहाँबाट सार्वजनिक उत्तरदायित्व वहन हुन सक्ने कुराप्रति सन्देह व्यक्ति गर्दै निजको अनुपस्थितिप्रति समितिको यो बैठक खेद व्यक्त गर्दछ।’
यस्तै, लेखा समितिको बैठकले हमालको सम्पत्ति छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। यसका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।
लेखा समितिको निर्णयमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डका अध्यक्षले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीहरूलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर ल्याउन अनुमति दिएर गैरजिम्मेवारीपूर्ण कार्य गरेको भनी व्यापक रूपमा जनगुनासो रहेको र समितिमा सो सम्बन्धमा कुरा उठेकाले उहाँको सम्पत्ति शीघ्र छानबिन गर्न र ३० दिनभित्र सो सम्बन्धी कार्यप्रगति विवरण समितिलाई उपलब्ध गराउन समितिको यो बैठक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देश गर्दछ।’
यो पनि पढ्नुहोस्: