हुन्डी कारोबारको आरोपमा १९ लाख रुपैयाँ सहित युवक पक्राउ
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको विराटनगरबाट एक युवकलाई १९ लाख ९० हजार रुपैयाँ सहित पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका-६, केशलिया मार्गबाट सुनसरीको देवानगन्ज गाउँपालिका-५ का सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए। को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा नगद लिएर जाँदै गरेका साहलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको दाहालले बताए।
बरामद रकम र मोटरसाइकल सहित उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ।
यसअघि पनि विराटनगर-१५ मा बस्दै आएका लक्ष्मणप्रसाद साहलाई सशस्त्र प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा १६ लाख १० हजार रुपैयाँ सहित पुस ३ मा पक्राउ गरेको थियो। उनी त्यत्ति नै रकम धरौटी राखेर राजस्व अनुसन्धान कार्यालयबाट छुटेका छन्।
हुन्डी कारोबार नियन्त्रण अभियान चलिरहेकाले पछिल्लो समय यसमा संलग्न व्यक्ति पक्राउ पर्न थालेको डीएसपी दाहालले बताए। हुन्डी कारोबारीले रकम बोक्न बालबालिकालाई भरियाका रूपमा प्रयोग गरिरहेको उनको भनाइ छ।
यसअघि कात्तिक १४ मा मोरङबाट १६ वर्षीय बालक २१ लाख ८७ हजार रुपैयाँ सहित पक्राउ परेका थिए। त्यसअघि विराटनगरबाट धर्मानन्द साहलाई चार लाख ७५ हजार रुपैयाँ सहित पक्राउ गरिएको थियो।
यस्तै, मोरङबाटै रञ्जितकुमार साहलाई नौ लाख २० हजार रुपैयाँ सहित पक्राउ गरिएको थियो। पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान कार्यालय, इटहरीबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
हुन्डीका भरिया पक्राउ परे पनि मुख्य कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन।