बनाउँदा बनाउँदै ढल्यो पुल
भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन मोटरेबल पुलको गिडरको फर्मा ढलेको छ।
आज बिहान षडानन्द नगरपालिका-२ र साल्पासिलिछो गाउँपालिका-३ को सिमानामा रहेको ताँबुटारस्थित इर्खुवा खोलामा निर्माणाधीन पुलको गिडरको फर्मा ढलेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदासले बताए।
फर्मा र गिडरको डन्डी बाँध्ने क्रममा टेकोले भार थेग्न नसकेर ‘स्काफोल्डिङ फल्सवर्क’ ढलेको पूर्वाधार विकास कार्यालय, भोजपुरका निमित्त कार्यालय प्रमुख राजेश्वर महतोले बताए। “त्यस्तो टेक्निकल समस्या होइन। काम गर्दागर्दै टेकाले थेग्न नसकेर स्काफोल्डिङ फल्सवर्क ढलेको हो,” महतोले भने, “दुई/तीन दिनमा समस्या समाधान भइहाल्छ।”
जय धनञ्जय दिव्यज्योति जेभीले भ्याट सहित रु.६ करोड ३० लाखमा पुल निर्माण गर्ने ठेक्का लिएको हो। २०७६ सालमा सम्झौता गरिएको पुल अझै बन्न सकेको छैन। महतोका अनुसार पुलको म्याद आगामी वेशाखसम्म छ।
यसअघि २०७८ मंसीरमा भोजपुरकै हतुवागढी नगरपालिका-२ र रामप्रसाद राई गाउँपालिका-५ जोड्ने पुल बनिनसक्दै भाँचिएर ढलेको थियो।