पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर
प्रहरी कर्मचारीको तलबभत्ता अपचलन गरेको अभियोगमा पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
शाह सहित तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरू, सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखे विरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा मुद्दा दायर गरेको थियो। शाह र पनेरूलाई दोषी ठहर गरे पनि ऐरी र विशंखेलाई भने सफाइ दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले हिमालखबरलाई बताए।
प्रवक्ता कार्कीका अनुसार दोषी ठहर भएकाहरूलाई सजाय तोक्न पुस २५ गते पेशी तोकिएको छ। टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलासको शाहलाई दोषी ठहर गरेको हो।
शाहले मध्यक्षेत्रीय प्रहरी तालीम केन्द्र भरतपुरमा छँदा १०३ जना प्रहरी जवान र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवान (नयाँ भर्ना भएका)हरूको ३३ लाख ३८ हजार ८४ रुपैयाँ तलबभत्ता हिनामिना गरेको अभियोग लगाइएको थियो।
२०७२ वैशाख २७ गते भर्ना भएका प्रहरी जवानले सोही वर्षको पुस २२ गते भरतपुरबाट तालीम सकाएका थिए। तालीम सकाएपछि उनीहरूको अन्यत्र सरुवा भएको थियो। तर शाहले उनीहरूको सरुवा भएपछि समेत माघ र फागुन महीनाको तलबभत्ता खर्चमा जनाएर भ्रष्टाचार गरेको पाइएको हो। यसका साथै शाहले १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको दुई दिनको तलबभत्ता अपचलन गरेको पनि पाइएको हो।
शाह साहित्यकार समेत हुन्। छापामारको छोरो, ज्याक्सन हाइट, सिपाहीकी स्वास्नी, काठमान्डुमा कामरेड लगायत उनका कृति प्रकाशित छन्। छापामारको छोरोका लागि उनले २०६३ सालको मदन पुरस्कार समेत पाएका थिए।