क्रिकेटर ख्वाजाले किन राख्न खोजे ब्याटमा ढुकुर?
क्रिकेट ब्याटमा शान्तिको प्रतीक ढुकुरको तस्वीर राख्न अनुमति नपाएपछि अस्ट्रेलियन क्रिकेटर उसमान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाएका छन्।
प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउन ख्वाजाले क्रिकेट ब्याटमा ढुकुरको तस्वीर सहित ‘०१:यूडीएचआर’ (मानव अधिकारको विश्वव्यापी घोषणाको पहिलो धारा, जसले मानव अधिकार सर्वव्यापी र अपरिहार्य भएको उल्लेख गर्छ) लेख्न चाहेका थिए।
अस्ट्रेलियाली अखबारका अनुसार आईसीसीले ख्वाजालाई यस्तो सन्देश प्रदर्शन गर्न अनुमति दिएन। आईसीसीको आचारसंहिताले विशेषगरी ‘राजनीति, धर्म र नश्ल’ का सन्दर्भमा खेलाडीलाई आर्मब्यान्ड वा पहिरन तथा खेल सामग्री मार्फत अनुमति नलिई प्रदर्शन गर्न बन्देज लगाएको छ।
यद्यपि ख्वाजा र उनका समर्थकले यो नियमले विगतमा अन्य खेलाडीलाई यस्तै सन्देश प्रदर्शन गर्न नरोकेको बताएका छन्। सन् २०२० मा इङ्ल्यान्ड विरुद्धको टेस्ट शृंखलाका क्रममा वेस्ट इन्डिजका खेलाडीलाई ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको कमीज लगाउन दिइएको थियो।
इन्स्टाग्राममा सोमबार पोस्ट गरिएको एक भिडिओमा ख्वाजाले केही अन्तर्राष्ट्रिय खेलाडीको तस्वीर पनि राखेका थिए, जसले आफ्नो ब्याटमा धार्मिक चिह्न र सन्देश प्रदर्शन गरेका थिए। उनले आफ्नो पोस्टको क्याप्शनमा लेखेका थिए– सबैलाई क्रिशमसको शुभकामना, कहिलेकाहीं हाँस्नु मात्र पर्छ... #असंगत #दोहोरोचरित्र।’
आईसीसीले खेलाडीलाई यस्ता प्रतीक प्रदर्शन गर्न रोक लगाएको यो पहिलो घटना भने होइन। यसअघि सन् २०१४ मा भारत विरुद्धको टेस्ट म्याचका दौरान इङ्ल्यान्डका मोईन अलीलाई पनि ‘गाजा बचाऔं’ र ‘प्यालेस्टाइनलाई स्वतन्त्र बनाऔं’ जस्ता नारा समेटिएको नाडीमा लगाइने ब्यान्ड प्रयोगमा रोक लगाइएको थियो।
पाकिस्तानमा जन्मिएका ३७ वर्षीय ख्वाजाले गाजाका मानिसहरूप्रति ऐक्यबद्धता र समर्थन देखाउन यो महीना थुप्रै प्रयत्न गरे। हालसम्म इजरायली आक्रमणमा २० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।
ख्वाजाले १४ डिसेम्बरमा पाकिस्तान विरुद्धको पहिलो टेस्ट म्याचका दौरान आफूले लगाएको कालो आर्मब्यान्डप्रति आईसीसीको असन्तुष्टि र चेतावनीको सामना गर्ने बताएका छन्।
ख्वाजाले शुरूमा त आफ्नो जुत्तामा प्यालेस्टाइनी झन्डाको रङमा लेखिएको ‘स्वतन्त्रता मानव अधिकार हो’ र ‘सबै जीवन बराबर छन्’ भन्ने सन्देश प्रदर्शन गर्न चाहेका थिए। उनले अभ्यासका क्रममा उक्त जुत्ता लगाएका थिए। तर टेस्ट म्याचका दौरान पनि लगाउने तयारी गर्दा उनलाई रोकियो।
ख्वाजाले गत १३ डिसेम्बरमा सामाजिक सञ्जाल एक्समा एक भिडिओ राख्दै आफ्नो सन्देश राजनीतिक उद्देश्यप्रेरित नभएको भन्दै स्पष्टीकरण पनि दिइसकेका छन्।
उनले आफूले लगाएको आर्मब्यान्डको सन्दर्भमा आईसीसीले गरेको निर्णय अर्थहीन भएको पनि बताएका थिए। “मैले उनीहरूलाई भनेको थिएँ, यो व्यक्तिगत शोकका लागि हो। मैले यो अन्य केही विषयसँग सम्बन्धित छ भनेर कहिल्यै भनेको छैन। जुत्ताको कुरा अलग हो, यसो भनिरहँदा मलाई कुनै दुःख छैन,” उनले मेलवर्न क्रिकेट ग्राउन्डमा भने।
व्यक्तिगत शोकबारे भने उनले थप केही खुलाएनन्।
ढुकुरले केको प्रतिनिधित्व गर्छ?
प्यालेस्टाइनी सहित विभिन्न संस्कृतिमा ढुकुरलाई शान्तिको प्रतीकका रूपमा लिइन्छ। वेस्ट ब्यांकमा अवस्थित प्यालेस्टाइनी शहर बिर नबालामा रहेको ‘विभाजनको पर्खाल’ मा विभिन्न ग्रफिटी चित्र कोरिएका छन्, जसमा शान्तिको ढुकुर पनि छ।
त्यो पर्खालको एक हिस्सा बेथलेहम शहरबाट पनि गुज्रिन्छ। त्यहाँ ब्रिटिश स्ट्रीट आर्टिस्ट ब्यांक्सीले बनाएको युद्धमा प्रयोग गरिने सुरक्षा कवच लगाएको ढुकुरको चित्रलाई विशेष मानिन्छ।
चित्रमा बुलेटप्रूफ ज्याकेट लगाएको सेतो ढुकुर छ, जसले आफ्नो ठुँडमा जैतून (अरबका मानिसहरूले पवित्र मान्ने वनस्पति)को हाँगा लिएर उडिरहेको छ। यो ढुकुरलाई प्यालेस्टाइनको धेरै क्षेत्रमा देख्न सकिन्छ।
कसले कस्तो प्रतिक्रिया दिए?
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ख्वाजाको बचाउ गर्दै उनले ढुकुरको चित्र प्रदर्शन गर्नु र टोलीकै अर्का सदस्य मार्नस ल्याबुशेनले धार्मिक प्रतीकका रूपमा चिलको चित्र प्रदर्शन गर्नुमा कुनै अन्तर नरहेको बताएका छन्।
आफ्नो ऐक्यबद्धता जाहेर गर्ने ख्वाजाको चाहनाप्रति अस्ट्रेलियाली टोली सकारात्मक रहेको कमिन्सले बताएका थिए। “यो प्रयोगको नतीजा के हुन्छ मलाई थाहा छैन तर मलाई लाग्छ ढुकुरको कुरा सामान्य हो,” कमिन्सले पत्रकारसँग भने, “हामी उजी (ख्वाजा)लाई समर्थन गर्छौं। मलाई लाग्छ- उनी आफ्नो मान्यताका लागि उभिएका छन् र मलाई लाग्छ उनले निकै श्रद्धापूर्वक यो सब गरिरहेका छन्।”
आईसीसीको नियम पालना गर्नुको विकल्प नरहेको पनि उनले उल्लेख गरेका छन्। “ऊ जसरी अघि बढिरहेको छ, उसले आफ्नो शिर ठाडो पार्न सक्छ। तर केही नियम पनि हुन्छन् जसले गर्दा आईसीसीले अनुमति नदिएको होला। अब उनीहरूले नै नियम बनाउँछन् भने हामीले त्यसको पालना गर्नुको विकल्प छैन,” कमिन्सले आफ्नो भनाइलाई विस्तार गरे।
अस्ट्रेलियाको क्रिकेट बोर्डले विज्ञप्ति जारी गर्दै ख्वाजालाई आफ्नो विचार व्यक्त गर्न अधिकार भएको तर यसका साथै आईसीसीको नियम पालना गर्नुपर्ने पनि उल्लेख गरेको थियो।
अस्ट्रेलियाकी खेलकूदमन्त्री अनिका वेल्सले ख्वाजालाई आफ्नो पूर्ण साथ रहेको बताएकी छन्। “उसमान ख्वाजा एक महान् खेलाडी र महान् अस्ट्रेलियन हुन्। आफूलाई महत्त्वपूर्ण लागेको विषयमा बोल्न उनलाई अधिकार हुनुपर्छ,” खेलकूदमन्त्री वेल्सले भनिन्, “उनले शान्ति र श्रद्धापूर्वक ती कदम चालेका छन्। उनले व्यक्तिगत विचार व्यक्त गरेका हुन्, जसले अस्ट्रेलियन क्रिकेट टोलीको आईसीसीप्रतिको प्रतिबद्धतामा कुनै सम्झौता गर्दैन।”
(अल जजीराबाट साभार गरिएको यस रिपोर्टको अनुवाद असीम तिमल्सिनाले गरेका हुन्।)