बिजुली काटिएपछि देउवा र ओलीसँग उद्योगीको गुहार
विद्युत्को बक्यौता सम्बन्धी विवाद चर्किदै गएपछि उद्योगीहरूले उच्च राजनीतिक नेतृत्व गुहारेका छन्।
नेपाल विद्युत् प्राधिकरणले नौ वटा उद्योगको बिजुली काटिदिएपछि प्रभावित उद्योगीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएका हुन्।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोर सहितका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा राजनीतिक दलका उच्च नेतृत्वलाई समस्या समाधान गर्न आग्रह गरेका छन्। मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीको टोलीले बुधबार बिहान कांग्रेस सभापति देउवासँग भेटभाट गरेको छ।
भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरूप विवाद समाधान हुनुपर्ने बताएको एक उद्योगीले जानकारी दिए।
२०७० को दशकमा लोडशेडिङका वेला विद्युत् प्राधिकरणले उद्योगलाई निर्बाध बिजुलीको सुविधा दिएको थियो। त्यति वेलाको विद्युत् महसूल सम्बन्धी विवाद अहिले पनि जारी छ।
प्राधिकरणले सर्वसाधारणको घरमा काटेर उद्योगलाई दिएको बिजुलीको मूल्य अरू वेलाको भन्दा बढी (प्रिमियम) तोकेको थियो। तर त्यो मूल्यको कानूनी हैसियत, बिजुली प्रयोग गरेको समय आदि विषयमा विवाद कायमै छ। प्राधिकरणले विना प्रमाण बढी मूल्य निर्धारण गरेको आरोप उद्योगीले लगाउँदै आएका छन्।
त्यति वेला निर्धारण गरिएको बिजुलीको मूल्य अहिले २० अर्बभन्दा बढी पुगेको अनुमान छ। बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले सिमेन्ट र छड उत्पादक नौ ठूला उद्योगमा बिजुली काटिदिएको छ।