भत्किएको घरले छेक्यो मुग्लानको बाटो
दशैंतिहार मनाएर मुग्लान लाग्ने तयारीमा रहेका बारेकोटका युवा तन्नेरीका लागि भूकम्पले भत्काएको घर तगारो बनेको छ।
कारगिलबाट घर फर्किंदा जाजरकोट, बारेकोट गाउँपालिका-१, सिर्पचौरका ५४ वर्षीय धनबहादुर घर्ती प्रफुल्ल थिए। झन् दशैंतिहारको रमझम शुरू भइसकेको थियो। वर्ष दिन कमाएर ल्याएको पैसाले घरको ‘प्लास्टर’ गर्ने योजना बुनेका थिए।
दशैं रमाइलोमै बित्यो। लगत्तै घरमा प्लास्टर लगाउने काम पनि शुरू भयो। तिहारअघि नै सक्ने योजना थियो। किनकि तिहारपछि त उनी कारगिल फर्किंदै थिए। “भर्खर प्लास्टर लगाउन शुरू गरेको मात्रै थिएँ, भूकम्पले खत्तमै पार्यो,” चर्किएको घरको भित्ता देखाउँदै धनबहादुर भन्छन्, “घर छियाछिया छ, केही नई।”
तिहार आउनु एक साताअघि कात्तिक १७ गते राति ११ः४७ बजे सिर्पचौरछेउकै रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले प्लास्टर लगाएको घरमा बस्ने उनको सपना अधुरै रह्यो। घरसँगै उनको कारगिल फर्किने योजना पनि खलबलियो। “घर नबनाई कसरी जानु?” उनी भन्छन्, “बालबच्चा पालमै छन्, पहिले बस्ने घर बनाउनुपर्यो।”
पोहोर साल दशैंतिहार मनाएर धनबहादुर सिर्पचौरबाट १७ सय किलोमिटर पश्चिमको भारतको कारगिलतिर लागेका थिए। सिर्पचौरबाट गाडीमा दुई घण्टा हुइँकिएपछि २७ किलोमिटर दक्षिणको जिल्ला सदरमुकाम खलंगा पुगिन्छ। त्यहाँबाट ३७७ किलोमिटर गुडेपछि सुर्खेत, कोहलपुर, महेन्द्रनगर हुँदै नेपालको पश्चिमी सीमानाका बनबासा पुग्न कम्तीमा १२ घण्टा लाग्छ।
बनबासाबाट रुद्रपुर, नयाँ दिल्ली, छत्तिसगढ, लुधियाना, पठानकोट, जम्मु, श्रीनगर हुँदै कारगिल पुग्न एक हजार २९६ किलोमिटर अर्थात् २७ घण्टाको यात्रा हुन्छ। यो त्यही कारगिल हो जहाँ सन् १९९८ मा भारत-पाकिस्तानबीच युद्धले भएको थियो। उक्त युद्धमा नेपाली गोर्खाले पनि ज्यान गुमाएका थिए।
भारत र पाकिस्तानबीच तनाव भइरहने त्यही कारगिल क्षेत्रमै काम गर्छन् उनी। सानोमै मुग्लानतिर लागेका धनबहादुर भारतको धेरै ठाउँ पुगिसकेको बताउँछन्। “ज्यालामजदूरी हो। जे काम पाइन्छ, त्यो गर्छु,” उनी भन्छन्। यो क्षेत्रका बासिन्दा कामका लागि भारत जाँदा मुग्लान भन्छन्। उनी पनि मुग्लानमा मजदूरी गरी बचेको पैसा बोकेर घर फर्किएका थिए।
त्यही पैसाले दशैं मनाएर घरमा प्लास्टर लगाउँदै थिए। भुइँचालो आइलाग्यो र घर चिराचिरा भयो। भुइँतलाको आधा भागमा लगाएको प्लास्टर उस्तै छ। पाँच जनाको परिवार छेवैको अस्थायी टहरोमा बसेको छ। अब उनले घर नबनाई मुग्लान नफर्किने निधो गरेका छन्। “सरकारले छिटो सहयोग गरे घर बनाउँथें,” निराश हुँदै उनी भन्छन्, “परिवारलाई घरभित्र राख्न पाए निस्किन्थें।”
मुग्लान जान त उनलाई पनि मन छैन। काम पाइयो भने त देशमै बस्न रमाइलो लाग्छ। केही वर्षअघि उनी मजदूरी गर्न काठमाडौं छेउछाउका गाउँसम्म पनि पुगेका थिए। त्यो २०७२ सालको भूकम्पपछिको समय हो। सिर्पचौरका धेरै जना धादिङ, सिन्धुपाल्चोकमा घर पुनर्निर्माणका लागि खटिएका थिए। भत्किएको आफ्नो घरगाउँ देखाउँदै उनी भन्छन्, “उतिवेला धादिङ, सिन्धुपाल्चोकमा भूकम्पपीडितका घर बनायौं, अहिले आफ्नो टाउकोमा आयो।”
त्यस्तै, काश्मीरबाट फर्किएका ४५ वर्षीय जसवीर थापाको मन अमिलो हुन्छ, गाउँको अवस्था देखेर। दशैंमा घर आउँदा गाउँभरि हरियाली थियो, सुन्दर पनि। तर भूकम्पपछि उजाड लाग्ने गरेको जसवीर सुनाउँछन्।
उसै पनि हिउँद याम उराठ नै हुन्छ। झन् गाउँभरिका भत्किएका घर छन्। कतै भत्किएका घरको ढुंगामाटो सफा गरिएको छ भने कतै उस्तै छाडिएको छ। गाउँवासी टहरामा बसिरहेका छन्।
घरको एकापट्टिको भित्ता भत्किंदा जसवीरको ६ जनाको परिवार पनि अस्थायी टहरामा रात गुजारिरहेको छ। “दिउँसो घाम लागेर न्यानो हुन्छ, बिहानबेलुकी चिसोले टहराभित्रै आगो तापेर बस्नुपर्छ,” उनी कष्टकर दैनिकी सुनाउँछन्।
यति कष्टकर दैनिकी त उनले भारतको जम्मु काश्मीरमा हिउँ परेको वेला काम गर्दा पनि भोग्नुपरेको थिएन। काश्मीरमा उनले भारतीय सेनाको सामान बोक्ने काम गर्दै आएका छन्। जाजरकोटबाट त्यहाँ पुग्न गाडी भाडा मात्रै १५ हजार रुपैयाँ लाग्ने गरेको उनी बताउँछन्।
सेनाको भान्साका सामान बोकेर हिउँ परेको लेकमा पुर्याउँदा दुःख हुन्छ। त्यसरी दुःख नगरी खान पुग्दैन। गाउँमा रोजगारी छैन। ६ महीना काम गरेर भर्खर फर्किएका उनी दशैंतिहार मनाएर काश्मीर लाग्ने योजनामा थिए। “भुइँचालोले बर्बाद भयो,” जसवीर भन्छन्, “परिवारलाई टहरामै छोडेर कसरी मुग्लान जानु?”
काश्मीरमा भारी बोकेर कमाएको पैसामध्ये केही जोगाएका थिए। परिवारका लागि लुगाफाटो किनेपछि थोरै बचेको थियो। घरमा केही महीना खानपिन गर्न र आफूलाई फर्किने भाडा होला भन्ने सोचेका थिए। अहिले त्यही पैसाले अस्थायी टहरो बनाएको उनी बताउँछन। “सरकारकोे पैसा आउन्जेल ढिलो हुन्छ भन्ने सोचेर आफैंले २५ हजारको जस्तापाता किनें,” उनी भन्छन्।
जसवीरले अनुमान गरे जस्तै भयो, दुई महीना पुग्न लाग्दा पनि काठमाडौंबाट अस्थायी आवासका लागि पठाउने भनिएको पहिलो किस्ताको २५ हजार रुपैयाँ सिर्पचौर पुगेको छैन। संघीय सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। दुई किस्तामा उपलब्ध गराउने भनिएको अनुदानको पहिलो किस्ता पनि भूकम्पपीडितले पाएका छैनन्।
अब जसवीर तत्काल भारत फर्कने मनस्थितिमा छैनन्। आफ्नो परिवारका लागि घर बनाएर मात्र फर्कने उनी बताउँछन्। “बालबच्चालाई घरभित्र नसारी त कसरी जानू?” उनी भन्छन्।
सिर्पचौरमा १५० घरधुरी छन्। घर्ती र पुनको बसोबास रहेका दुवै गाउँका युवा तन्नेरी मजदूरी गर्न भारत जान्छन्। भारत नगई परिवारको गुजारा चल्दैन। “सबैको उस्तै हो, ज्यालामजदूरी गर्न भारत नगई हुँदैन,” उनी भन्छन्।
सिर्पचौरसँगै सिंगो बारेकोट गाउँपालिका नै भारतमा निर्भर छ। युवा तन्नेरी भारत नगएको घर कमै भेटिन्छन्। “भारत जाने त परम्परा जस्तै छ,” गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, “लामो समयदेखि नै स्थानीय बासिन्दा भारतमा गएर काम गर्ने चलन रहिआएको छ।”
स्थानीय बासिन्दाका अनुसार युवाहरू दुई कारणले भारत जान्छन्। एक, भारत जानु नजिक छ। पाँच-सात महीना काम गरेर फर्किन सकिन्छ। गाउँका मान्छे आउजाउ गरिराख्ने भएकाले घरखर्च पठाउन सजिलो हुन्छ। यो परम्परा जस्तै बनेको छ।
अर्को, गरीबी। स्थानीय उत्पादनले पुग्दैन। आयस्रोत छैन। जसले गर्दा धेरै रकम खर्च गरेर भारत बाहेक मुलुक जान सक्दैनन्। गाउँपालिका अध्यक्ष गिरी पनि भन्छन्, “छोटो समयका लागि रोजगारी गर्न र कम खर्चमा नजिकैको देशमा कमाउन सकिने देखेर भारत जाने गर्छन्।”
कोही वर्षदिनमा दशैंतिहार मनाउन घर आइपुग्छन्। कोही ६ महीना भारतमा मजदूरी गर्छन् भने ६ महीना खेतीपाती गर्न गाउँमा बस्छन्। बारेकोटदेखि भारतसम्मको यात्रा भन्ने सहज छैन। फटाफट गाडी मिल्यो भने पनि तीन दिन लाग्छ। ६० वर्ष नाघेका पनि मजदूरी गर्न भारत पुग्छन्। “मजदूरी नगरी हातमुख जोड्न सकिंदैन,” घर्ती भन्छन्।
केही वर्षअघिसम्म हरेक घरका युवा तन्नेरी भारत जाने गरेका थिए। पछिल्लो पाँच-सात वर्षयता गाउँमा विकास निर्माणका काम हुन थालेपछि जानेको संख्यामा केही कमी आएको गाउँपालिका अध्यक्ष गिरी बताउँछन्। “पहिले त सबै घरका भारत नै जाने गर्थे तर स्थानीय सरकार आइसकेपछि साना विकासका आयोजनादेखि संघसंस्था आउन थालेपछि केही गाउँमै रोकिए, केहीले रोजगारी पाए,” अध्यक्ष गिरी भन्छन्, “अहिले पनि ९० प्रतिशत घरका व्यक्ति भारत नै जाने गरेका छन्।”
यस पटक पनि सिर्पचौरका बासिन्दा दशैंतिहार मनाएर मुग्लानतिर जाने योजना बुनेर घर फर्किएका थिए। तर रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले सबै लथालिंग पारिदियो। मानवीय क्षतिबाट जोगिए पनि घर भने जोगिएनन्। केही पूर्ण रूपमा त केही आंशिक रूपमा भत्किएका छन्। सग्लो देखिने घरभित्र पनि पस्न सकिने अवस्था छैन, चिराचिरा परेका छन्।
शिवराज घर्तीको परिवार पनि घरभित्र पस्न सकेको छैन। पाँच जनाको परिवार पालमै बसिरहेको छ। अब कसरी घर ठड्याउने भन्ने सोच्न नसकेको उनी बताउँछन्। “भारतबाट आएको आठ महीना भइसक्यो, कमाइ केही छैन,” उनी भन्छन्, “अब कसरी घर बनाउनु?”
४३ वर्षीय शिवराज गत जेठमा भारतबाट फर्किएका थिए। दशैं मनाएर गाउँलेसँगै भारत जाने सोचमा थिए तर गाउँमै अड्किएका छन्। भारत नगई पाँच जनाको परिवार पाल्न सकिने अवस्था नभएको सुनाउँछन्। “घर त छाड्नै पर्यो, पैसा कमाउन जानै पर्यो,” उनी भन्छन्, “अहिलेसम्म काम गरेको एक महीना भइसक्यो, घरले रोक्यो।”
स्थानीय सरकारले पनि तत्काल भारत नजान आग्रह गरेको छ। पुनर्निर्माणको काममा आपसी सहयोगका लागि पनि केही समय गाउँमै रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष गिरी बताउँछन्।
सरकारबाट तत्काल प्राप्त हुने ५० हजार रुपैयाँसँगै विभिन्न संघसंस्थाबाट आउने सहयोगले घरखर्च चलाउन मिल्ने भएकाले भारत जानका लागि नहतारिन आग्रह गरेको उनको भनाइ छ। “सरकार तथा विभिन्न संघसंस्थाको सहयोगले केही समय गुजारा चलिहाल्छ,” अध्यक्ष गिरी भन्छन्, “गाउँको पुनर्निर्माण गर्नु छ। कोही गाउँबाट नगइदिनुहुन र एकले अर्काको घर बनाउन सहयोग गरौं भनेको छु।”
तीनै तहका सरकारले भने जस्तो सहयोग त स्थानीय बासिन्दासम्म पुगेको छैन तैपनि उनीहरूले गाउँ छोड्ने हिम्मत जुटाउन सकेका छैनन्। सरकारले भन्दा पनि आफ्नै भत्किएका घरले मुग्लान जानबाट रोकिराखेको स्थानीय नरेन्द्र घर्ती बताउँछन्। दशैंअघि कारगिलबाट फर्किएका २८ वर्षीय नरेन्द्रको पनि तिहारपछि उतै जाने योजना थियो।
तर अब उनी तत्काल नजाने सुनाउँछन्। “तीन छोराछोरी छन्, उनीहरूलाई पालमै राखेर जानु पनि त भएन,” नरेन्द्र भन्छन्, “घर बनाउन सरकारको सहयोग पर्खिरहेका छौं।”
यो पनि पढ्नुहोस् :