प्रधानमन्त्रीको दाबी : देशमा पहुँच होइन विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले लापरवाही गरेन
प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कुनै लापरवाही नगरेको बताएका छन्।
आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन्। उच्च पदस्थहरूलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञान बनिरेहका वेला विभिन्न प्रकरणमा भएका अनुसन्धान र कारबाहीले उच्च पदस्थहरू पनि कानूनको नियन्त्रणमा आएको उनले बताए।
“मैले संसद्मा शुरूकै दिन गरेको संकल्प थियो- सुशासन। देशमा एउटा ‘भीआईपी कल्चर’ स्थापित भइरहेको थियो। हाई प्रोफाइलहरूलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञान बनिरहेको थियो। सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध लगायत काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेकै छ,” उनले भने, “कहिल्यै कानूनले नछुने ठानिएका उच्च पदस्थ कानूनको नियन्त्रणमा आए। देशमा पहुँच होइन विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कुनै लापरवाही गरेन।”
यस्ता कदमबाट कानून सहित लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको उनको दाबी छ।
प्रधानमन्त्री दाहालले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताएका छन्। “वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिबद्ध छ,” उनले भने।
यस्तै, एनसेलको शेयर बिक्रीबारे जानकारी पाए लगत्तै अत्यन्त संवेदनशीलताका साथ यो विषयलाई छानबिन तथा अध्ययन समिति मार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।