खोलामा पर्याप्त पानी नछोडेको भन्दै स्थानीयद्वारा सुपरमाई हाइड्रोको उत्पादन बन्द
इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयले बन्द गराएका छन्।
उक्त जलविद्युत् आयोजनाले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै सोमबार रातिदेखि उत्पादन बन्द गराइएको हो। खोलाको पानी आयोजनातर्फ जान नदिई बगरमा पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए। आयोजनाले माईजोगमाई-५, सोताङमा सडक मर्मतका लागि ३० घण्टा एक्स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटक पटक झुक्याएका कारण पनि उत्पादन बन्द गर्नुपरेको उनले बताए।
“खोलामा छोड्नुपर्ने २० प्रतिशत पानी समेत उहाँहरूले छोड्नुभएको छैन,” भण्डारीले भने।
हाल सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ। स्थानीयले सोमबार राति ११ बजेदेखि नै उत्पादन बन्द गराएका हुन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौला आफूहरूले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै पनि उत्पादन बन्द गरिएको बताउँछन्। आयोजनाको प्रवेशद्वार समेत बन्द गरिएको बताइएको छ।
पछिल्लो समय शेयर लगानी मार्फत ५० हजारभन्दा बढी सञ्चालक रहेको आयोजनाको एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको आयोजनाले जनाएको छ। उत्पादन बन्द भएपछि आयोजनाले दैनिक पाँच लाख रुपैयाँभन्दा बढीको घाटा बेहोर्नुपर्छ।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा अवस्थित आयोजना ७.८ मेगावाट क्षमताको छ। -रासस