बेरोजगारीले परदेशै प्यारो
दुबईका चोक चोकमा नेपाली भेटिन्छन्। तिनमा स्वदेश फिर्नभन्दा तेस्रो देश छिर्न खोज्नेको संख्या थपिंदो छ।
मंसीर २२ को मध्यराति काठमाडौंबाट फ्लाई दुबईको बोइङ उडेको केही समयपछि विमान परिचारिका यात्रुका हातमा ‘लन्च बक्स’ थमाउन थालिन्। अनि सोध्दै गइन्, “चिया कि कफी?” दुबई-काठमाडौं रूटका विमान प्रायः नेपाली कामदारले भरिन्छन्। तिनैको संगतले शायद उनले यी नेपाली शब्द थाहा पाइन्। अंग्रेजी नआउनेलाई बुझ्न सहज होस् भनेर आफ्नै यत्नले पो सिकिन् कि!
खानापछि यात्रुले रुचि अनुसारको पेयपदार्थ लिए। दुबईलाई ट्रान्जिट बनाउने बाहेक अधिकांश त्यहाँ रोजगारका निम्ति जाँदै थिए। दुबई पुग्दा पनि विमान र विमानस्थल दुवैतिर नेपालीकै भीड थियो। सुरक्षा जाँच सकेर विमानस्थलबाट निस्कँदै गर्दा पनि नेपालीकै चहलपहल देखिन्थ्यो। कोही सफाइ मजदूरका रूपमा खटिएका त कोही ट्याक्सी चालक। केही चाहिं रोजगारका लागि पुगेका आफन्तलाई लिन आएका। नेपाली भाषामै तिनको आपसी कुराकानीले चिन्न अप्ठेरो थिएन।
पार्किङ लटमा सिन्धुपाल्चोक, पाँचपोखरीका एक भाइ भेटिए। पेशाले सवारी चालक उनी नेपालबाट आएको अर्को साथीलाई लिन आएका रहेछन्। केही बेर कुराकानीपछि अलि अनौपचारिक बन्दै सोधे, “नेपालबाट चुरोट, सुर्ती ल्याउनुभएको छ त दाइ?”
चुरोट-सुर्तीको लत नरहेको मसँग उनको तलतल मेटाउने उपाय थिएन। ‘तोलाको बोली खोलामा’ गएछ क्यारे, मन अलिक अमिलो बनाए जस्तो लाग्यो। विमानस्थल बाहिरपट्टि सरसफाइ गरिरहेका अर्का एक नेपाली भाइ कम्पनीको व्यवस्थापकलाई फकाएर लाइटर ल्याउन सफल भएको तर चुरोट नपाउँदा छटपटी भइरहेको बताइरहेका थिए।
जलवायु सम्बन्धी विश्व वातावरण सम्मेलन (कोप-२८)मा सहभागी हुन औपचारिक सत्र सम्पन्न भइसकेपछि दुबई पुगेको थिएँ म। बिरानो ठाउँ भए पनि यात्रा असहज पटक्कै थिएन। बाटो बिराए देखाइदिन गल्ली, पसल, रेस्टुराँ, मेट्रो स्टेशन जताततै नेपाली छँदै थिए। कोप आयोजनास्थल दुबई एक्सपो २०२० को प्रवेशद्वारदेखि सुरक्षा जाँचस्थल, मिडिया सेन्टर, शौचालय सबैतिर नेपाली कामदार नै भेटिन्थे। कोही कोही होटल सञ्चालक, व्यापारी र स्थापित कम्पनीका जागीरे पनि छन्।
यूएईको राजधानी आबुधाबी, सारजहा, दुबई लगायत शहर तीव्र गतिमा विकास हुँदै छन्। विकास निर्माणका काममा भारतीय, पाकिस्तानी, श्रीलंकाली, अफ्रिकीसँगै नेपाली कामदार खटिइरहेका भेटिन्छन्। अनि अवैध बाटो अमेरिका र यूरोप जान भनी भिजिट भिसामा पुगेका नेपाली पनि त्यहाँ छन्।
अमेरिका पुग्ने शर्तमा सिरिखुरी बेचेर दलाललाई ७५ लाखसम्म बुझाउन तयार छन् उनीहरू। तीमध्ये केहीको भिसाको तीन महीने म्याद सकिइसकेकाले बसाइ अवैध छ। ती जरुरी काम नपरी बाहिर निस्कँदैनन्। कोही चाहिं रूसी सेनामा भर्ती हुन पालो पर्खिरहेका छन्। यो तस्करी जालोका दलालहरूको अखडा पनि दुबई नै रहेको नेपालीहरूसँगको कुराकानीबाट बुझिन्छ।
“चार महीना भइसक्यो दलालले अमेरिका पठाउँछु भनेर भिजिट भिसामा ल्याएको। अब हामी अवैध भइसक्यौं। बाहिर हिंड्न पनि डर लाग्छ। काठमाडौंबाट पैसा हाल्न लगाएको दलालसँग फोनमा कुरा हुन्छ, मान्छे भेटिएको छैन,” दुबईमा रहेका एक युवकले आफ्नो पहिचान नखोलिदिन आग्रह गर्दै भने, “अर्कोले ७५ लाख तिरे प्लेनबाट पठाइदिन्छु भनेको छ। बुबाको पेन्सनले किनेको घडेरी छ, त्यही बेचेर भए पनि अमेरिका जाने नै हो।”
नेपाली कामदारलाई थाहा छ- यो भूमि आफ्नो होइन, न त त्यो प्रगति आफ्नो हो। तर देश सम्झँदा पनि उनीहरू वितृष्ण हुन्छन्।
दलालले प्लेनबाट जाँदा यात्रा सहज हुने र त्यसका लागि पैसा बढी लाग्ने बताएको रहेछ। ती भाइले सुनाए, “हवाईजहाजबाट सीधै अमेरिकासँग सिमाना जोडिएका देश पुर्याउने र त्यहाँबाट हिंडाएर अमेरिका छिराएको धेरै पैसा लाग्छ रे! जंगल र समुद्रको लामो बाटो हिंडाएर लैजाने अर्को रूट रहेको र त्यसमा कम पैसा लाग्ने बताउँछन्।”
यो लाममा यसरी हिंड्नेमा बेरोजगार युवा मात्र छैनन्, सरकारी जागीरे, प्रहरी, सैनिक, पत्रकार, समाजसेवी सबै पृष्ठभूमिका छन्। अमेरिका पुग्ने आशमा थुप्रैले पानामाको जंगल छिचोल्दा छिचोल्दै ज्यान गुमाइसके। तर पनि युवाहरूमा जसरी हुन्छ यूरोप, अमेरिका छिर्ने हुटहुटी तीव्र छ। परिणाम- गाउँ उराठलाग्दो बन्दै छन्।
दुबई पनि केही दशकअघिसम्म उराठलाग्दो धुलौटे भूमि नै थियो। नेपालीकै श्रमले अहिले धपक्क बलेको छ। यूरोपियन र अमेरिकीको पर्यटकीय गन्तव्य बनेको छ। आम्दानीको स्रोत नदेखाई व्यापार-व्यवसाय गर्न सकिने खुकुलो नीतिका कारण संसारभरका धनाढ्यले यही शहरलाई लगानीको केन्द्र बनाएका छन्। तिनमा नेपाली पनि छन्। तर नेपालकै सडक, पूर्वाधार र आर्थिक अवस्था प्रत्येक वर्ष खस्कँदो छ।
“विकासका लागि मुख्य त भिजन सहितको नेतृत्व चाहिने रहेछ। म आउँदा देखेको र अहिलेको दुबईमा आकाशपतालको फरक छ,” २७ वर्षदेखि दुबईमा कार्यरत रोल्पा, लिवाङका दिल पुन मगर सुनाउँछन्, “यो सबै यहाँका शेखको भिजनका कारण भएको हो। २० वर्षमा धेरै गर्न सकिने रहेछ। हाम्रा नेताहरूमा विकासको भिजन नै भएन। राजनीति मात्र भयो।”
भारतमा व्यवस्थापन पढेर दुबई गएका उनी अहिले एक निजी कम्पनीमा व्यवस्थापक छन्।
नेताका भाषणमा देशलाई समृद्ध बनाउने आश्वासन कहिल्यै टुट्दैन। व्यवस्था परिवर्तनका लागि भन्दै १० वर्ष सशस्त्र द्वन्द्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘नेपाललाई स्वीट्जरल्यान्ड जस्तो बनाउने’ वाचा गरेको डेढ दशकअघि नै हो। शान्ति प्रक्रियायता उनी तीन पटक प्रधानमन्त्री भइसके। अहिले पनि उनकै शासन छ। तर अवस्था यति जर्जर भइसक्यो कि उनले उक्त अभिव्यक्ति दिंदाताका दैनिक १३ सय नागरिकले देश छाड्ने गरेकामा अहिले त्यो संख्या तीन हजार हाराहारी छ।
समानता र आर्थिक क्रान्तिका लागि भनी उनैले नेतृत्व गरेको सशस्त्र संघर्षका लडाकूहरू नै रोजगारीका लागि रूसी सेनामा भर्ती भएको सार्वजनिक घोषणा गरिरहेछन्। युद्धमा खटाइएका सात नेपालीको मृत्यु भइसकेको सरकारकै तथ्यांक छ। रूसी सेनाबाट फुत्किएकाहरू भने करीब ३०० नेपालीको ज्यान गइसकेको दाबी गर्छन्।
नेपाली युवा यसरी अर्काको देशमा भाडाको सैनिक बन्न किन बाध्य भइरहेछन्, सरकारसँग चित्तबुझ्दो जवाफ छैन। न त प्लस टू सक्नासाथ दूतावासमा लाम लाग्नेहरूलाई स्वदेशमै टिकाउने भरपर्दो योजना छ। विद्यार्थी नपाएर सरकारी क्याम्पस धमाधम बन्द हुँदै छन्।
यूएई भने झन् झन् फक्रँदो छ। समुद्रमाथि शहर, संसारकै अग्लो बुर्ज खालिफा, दुबई मरिन र अन्य आइकोनिक भवनले संसारलाई मुग्ध बनाइरहेछन्। विकास निर्माणको रफ्तार तीव्र छ। नेपाली कामदारलाई थाहा छ- यो भूमि आफ्नो होइन, न त त्यो प्रगति आफ्नो हो। तर देश सम्झँदा पनि उनीहरू वितृष्ण हुन्छन्। त्यसैले धेरैजसो त्यहींबाट अर्को देश छिर्ने योजना बनाइरहेका भेटिन्छन्। देशको अस्तव्यस्तता र बेरोजगारीले उनीहरूलाई परदेश प्यारो बनाइरहेछ।
काम, बिदामा घुम्न, बसोबास र व्यवसायका लागि दुबई जानेको संख्या बढिरहेछ। “यस वर्ष दुबईमा सबैभन्दा धेरै नेपाली कामका लागि आएको सुनेको छु,” पुन भन्छन्, “यहाँ नेपाली नभेटिने ठाउँ नै छैन।”
काम बाहेक उनको दैनिकी दलालले अमेरिका पुर्याउने भनी अलपत्र छाडेका, दुर्घटनामा घाइते भएका र भिसा अवधि सकिएर अवैध भएका नेपालीको उद्धारमा बित्छ। हामीले भेट्दा उनी रोल्पाका २१ वर्षीय बालकुमार नेपालको सहयोगमा खटिंदै थिए। दुबईको इजादह एसेट म्यानेजमेन्ट ग्रूपमा कार्यरत नेपाल ड्यूटीमा गइरहेका वेला बस दुर्घटनामा परेका थिए। राम्रो उपचारले ज्यान त बच्यो तर खर्च तीन करोड ३२ लाख पुगेको थियो। केही रकम बीमाले बेहोरिदिए पनि एक करोड साठी लाख अझै तिर्न बाँकी छ। त्यो नतिर्दासम्म अस्पतालले नेपाल फर्कन दिएको छैन। आपत् परेका नेपालीहरूलाई गैरआवासीय नेपाली संघ, रोल्पा सेवा समाज जस्ता संघसंस्थाले पनि सघाइरहेका हुन्छन्।
दुबईबाट फर्किंदा पनि विमान नेपालीहरूले नै भरिएको थियो। केही साउदी अरबबाट ‘ट्रान्जिट’ बनाएर आएका, बाँकी सबै दुबईबाटै फर्किएका। “हेर, विदेशी पर्यटकले भरिनुपर्ने जहाज घर फर्किने कामदारले भरिएको छ। कसरी देश उँभो लाग्ला र?” पोल्यान्डबाट आएका दैलेखका राजाराम आचार्यले भने, “देशको अवस्था झन् झन् बिग्रँदो छ।”
नेपाल प्रहरीबाट सेवानिवृत्त उनी पुर्ख्यौली बस्ती छोडेर बाँकेको कोहलपुर झरिसकेका छन्। सेवानिवृत्तिपछि माल्दिभ्स गएर सुरक्षा गार्डको काम गरे। कोभिड-१९ महामारीले जागीर खोसेपछि पोल्यान्ड गए। त्यहाँ कमाइ राम्रै छ। बिदामा घर फर्किए पनि उनी स्थायी रूपमा चाहिं विदेशमा स्थापित हुन चाहन्छन्। “हाम्रा दिन त यत्तिकै गइहाले। दुइटी छोरी छन्। तिनका लागि भए पनि बेलायतसम्ममा सेटल हुन सके राम्रो होला कि?” उनले सुनाए।
मेरो सीटको दायाँपट्टि धनुषाका बजरंग साह थिए। सन् २००५ मा साउदी अरब गएका उनी चार वर्ष काम गरेर नेपाल फर्किए। फेरि नौ वर्ष कतारमा बसेर रंगशाला निर्माण गरे। यहाँ केही उपाय नलागेपछि फेरि साउदी फर्किएका रहेछन्। झन्डै डेढ दशक खाडीमा पसिना बगाएका उनले नेपालमा भविष्य देखेका छैनन्। उनलाई फेरि साउदी अरब फर्कनु छ।
“विवाह गर्न घर फर्केको हो भाइ?” कलिलै उमेरको लागेर मैले सोधें।
“हो, विवाह गर्न जाँदै छु। केटी खोजेर राखेको छ,” उनी अलि झोक्किए जस्तो गरे।
मैले किन रिसाएको भनी सोधेपछि उनी आफैंले प्रस्ट्याए, “मलाई सबैले यही प्रश्न गर्छन्। म छोरीको बिहे गरेर साउदी गएको हुँ। नातिनी पनि भइसकेकी छ।”
उनी त उमेरले चार दशक कटिसकेका रहेछन्। विदेशिनुपर्ने यिनको बाध्यताले तराईमा विद्यमान गरीबी, बालविवाह, बेरोजगारी, कमजोर आर्थिक र सामाजिक अवस्था उजागर गर्छ।