पूर्व गोर्खा सैनिकले बनाए एक करोड ३९ लाखमा विद्यालय भवन
समाजसेवी कृष्णबहादुर राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालय भवन निर्माण गरिदिएका छन्।
पौवादुङमा गाउँपालिका-२, थर्पुमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिएका हुन्। विद्यालयको नयाँ छकोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ।
पूर्व बेलायती गोर्खा सैनिक राईले विद्यालयको भौतिक संरचना जीर्ण देखपछि विद्यालय निर्माण गरेको बताए। उनले भने, “मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ।”
७० वर्षीय राईले विद्यालय भवन मात्र नभई विद्यार्थी खेल्ने ठाउँ समेत बनाइदिएका छन्। गाउँपालिकाका अध्यक्ष किरण राईले आफू जन्मेहुर्केको ठाउँमा उनले गरेको काम प्रशंसनीय भएको बताए। अध्यक्ष राईले भने, “गाउँको विकास गर्नुपर्छ भन्ने भावनाका साथ उहाँले विद्यालयका लागि पक्की भवन बनाएर कीर्ति कायम गर्नुभएको छ।”
नवनिर्मित छकोठे पक्की भवन र विद्यालयको खेलमैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थी पनि दंग छन्। बसाइँसराइ लगायत कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताए। विद्यालय भवनको सोमबार नै उद्घाटन पनि गरिएको छ। -रासस