सामान्य दिनचर्यामा फर्कने प्रयासमा भूकम्पपीडित बालबालिका
भूकम्पपछि त्रसित बनेका जाजरकोट र रुकुम पश्चिमका बालबालिका बिस्तारै सामान्य दिनचर्यामा फर्किन थालेका छन् भने उनीहरूलाई अझै पनि मनोपरामर्शको खाँचो छ।
कक्षा ५ मा पढ्ने जाजरकोटको बारेकोट गाउँपालिका-१, सिर्पचौरकी १२ वर्षीया पशुपति घर्ती भूकम्पको कुरा गर्दा अहिले पनि तर्सिन्छिन्। भूकम्पले घर भत्किएपछि पालमा बस्दै आएकी घर्ती त्यो दिन सम्झिँदा नराइलो लाग्ने गरेको सुनाउँछिन्।
भत्किएको घरछेउमै उनको परिवारले टहरो बनाउँदै छ। दुई दिदीबहिनीसँगै उनी पनि ढुंगा ओसार्न आमाबुबालाई सघाउन थालेकी छन्। “घरीघरी हाम्रो घर कहिले बन्ला भन्ने सोच्छु,” उनी भन्छिन्।
अहिले ढुंगा ओसार्न सघाइरहेकी उनी भूकम्प गएको केही दिनसम्म त डराउने गरेकी थिइन्। घरका कामकाजमा हात बढाउन पनि छोडेकी थिइन्। स्कूल पनि जाने गरेकी थिइनन्। “आजभोलि त बिहानबेलुका घरको काममा सघाउँछु, दिउँसो स्कूल जान्छु,” उनी भन्छिन्।
गत कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले घर-गाउँ तहसनहस पारेपछि बालबालिका पनि प्रभावित थिए। उनीहरू घरीघरी तर्सिने गरेका थिए भने यताउता जान डराउँथे। झन्डै महीना दिन त स्कूल जान पनि सकेका थिएनन्।
मुश्किलले बालबालिकालाई स्कूल आउने गराएको स्थानीय हिमालय देवी आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर बुढा बताउँछन्। “शुरूआतमा त आपत् भयो, विद्यार्थी नै आएनन्,” प्रधानाध्यापक बुढा भन्छन्, “शिक्षकले घर घरमा गएर सम्झाइबुझाइ गर्यौं।”
भूकम्पअघिको जस्तै नियमित नभए पनि धेरैजसो बालबालिका स्कूल जान थालेका छन्। गाउँघरमा पनि आपसमा खेलेर रमाउन थालेको प्रधानाध्यापक बुढा बताउँछन्। भूकम्प गएको केही समय त बालबालिकाले खेल्नै छोडेका थिए।
पुस पहिलो साता नलगाड नगरपालिका-१, चिउरी गाउँ पुग्दा बालबालिका ‘सातढुंगे’ खेलेर रमाइरहेका थिए। गाउँको बीचमै रहेको खाली जमीनमा साँझपख भेला भएका बालबालिकामध्ये कतिपय त स्कूल पोशाकमै थिए।
गाउँभरि भने एउटै घर पनि सिंगो ठडिएको छैन। घरको नाममा ढुंगा र माटोका थुप्रो मात्र छन्। केही परिवार पालमा त केही अस्थायी टहरामा बसिरहेका छन्।
भताभुंग बस्तीको बीचमा रहेको खाली जमीनमा मोजामा कपडा कोचेर बनाएको बलले ‘सातढुंगे’ खेलिरहेका थिए। स्थानीय बासिन्दा पनि उनीहरूले खेलेको हेरिरहेका थिए। भूकम्पपछि बालबालिका खेलेको देख्दा खुशी लागेको प्रधानाध्यापक बुढा सुनाउँछन्।
चिउरी गाउँको स्कूलको भवन पनि भूकम्पले भत्किएको छ। बालबालिका पालमै बसेर पढिरहेका छन्। भूकम्प गएपछिको केही समय त्रासमा रहेका बालबालिका आजभोलि भने स्कूलको छुट्टी हुने बित्तिकै खेल्न आइपुग्छन्।
बिस्तारै बालबालिका पनि सामान्य अवस्थामा फर्किन थालेको स्थानीय बासिन्दा बताउँछन्। चिउरी गाउँमै भूकम्पले १३ जनाको ज्यान लिएको थियो। त्यसले पनि बालबालिकालाई त्रसित बनाएको थियो।
चिउरी गाउँ जस्तै भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका बालबालिका सामान्य जीवनमा फर्कने प्रयासमा छन्। तर यसको क्षति ठूलो भएकाले केही बालबालिकालाई मनोपरामर्शको आवश्यकता रहेको नलगाड नगरपालिकाका बालकल्याण अधिकारी प्रदीप रावल बताउँछन्। “बालबालिकाका लागि मनोपरामर्शको व्यवस्थाका लागि प्रयास भइरहेको छ,” रावल भन्छन्।
अभिभावकविहीन बालबालिका आफन्तको आश्रयमा बसे पनि सामान्य दिनचर्या फर्काउन अझै केही समय लाग्न सक्ने उनको भनाइ छ। भूकम्पबाट नलगाडमा २८ जना बालबालिकाको मृत्यु भएको थियो भने दुई जना बालबालिका अभिभावकविहीन छन्। अभिभावकविहीनलाई वैकल्पिक संरक्षणका लागि पहल भइरहेको रावल बताउँछन्।
त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्पबाट २२ जना बालबालिकाको ज्यान गयो। बालकल्याण अधिकारी लीलाकुमारी वली नगरभित्रका विद्यालयमा पठनपाठन सञ्चालन भइसकेको बताउँदै बालबालिका पनि बिस्तारै सामान्य जनजीवनतर्फ फर्किरहेको बताउँछिन्।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो। जाजरकोटमा ३३ महिला, १७ पुरुष र ५१ बालबालिका गरी १०१ जनाको ज्यान गएको थियो। त्यस्तै, रुकुम पश्चिममा १२ महिला, ११ पुरुष र ३० बालबालिका गरी ५३ जनाको मृत्यु भएको थियो।
दुवै जिल्लामा भूकम्पबाट ८१ जना बालबालिकाको मृत्यु भएको थियो। जसमा २३ जना बालबालिकाले आफ्ना आमाबुबा दुवै गुमाएको राष्ट्रिय बालपरिषद्का सूचना अधिकारी रामबहादुर चन्द बताउँछन्। तीन बालबालिकालाई वैकल्पिक संरक्षणका लागि सुर्खेतको कोपिला भ्याली संस्थामा राखिएको छ। बाँकी २० बालबालिकालाई संरक्षणका लागि प्रक्रिया अघि बढेको चन्द बताउँछन्।
भूकम्पबाट दुवै जिल्लामा ६१ जना बालबालिकाले आफ्ना बुबाआमामध्ये एकलाई गुमाएका छन्। जसका कारण उनीहरूको पालनपोषणका लागि सहयोगका आवश्यक रहेको चन्द बताउँछन्।
स्कूल निर्माणमा अभिभावक
भूकम्पबाट भत्किएका विद्यालय भवनमा अस्थायी टहरा निर्माणको कार्य भइरहेको छ। जाजरकोट र रुकुम पश्चिमका विद्यालयमा कोठाभित्र बसेर पढ्न सक्ने अवस्था छैन। भवनमा जोखिम हुने डरले अस्थायी रूपमा खडा भएको पालमा नै पढाइ चलिरहेको छ।
केही स्थानमा पढाइ सहज बनाउन गाउँका अभिभावकले नै अस्थायी टहरा निर्माणमा सहयोग गरेका छन्। केही स्थानमा संघसंस्थाबाट प्राप्त पालको सहयोगले अभिभावकले काठको खम्बा बनाएर आफ्ना बच्चालाई पढ्न टहरा बनाइदिएका छन्।
बारेकोटको सिर्पचौरमा रहेको हिमालय देवी आधारभूत विद्यालयमा १५० बालबालिका अध्ययन गर्दै छन्। विद्यालयमा अस्थायी रूपमा पाल राख्न अभिभावकले नै सहयोग गरेका थिए।
नलगाड नगरपालिकाका अन्य विद्यालयमा पनि टहरा निर्माणका लागि अभिभावक जुटिरहेको मेयर डम्बरबहादुर राउत बताउँछन्। आफ्ना बालबच्चाका लागि भए पनि अभिभावकले विद्यालयलाई सहयोग गरिरहेका छन्।
यो पनि पढ्नुहोस् :