विद्यार्थी पलायनलाई रोक्न त्यसको जरोमा पुगेर समाधान खोज्नुपर्ने शिक्षाविद्हरूले बताएका छन्।
सोमबार पिपुल्स क्याम्पसको ४२औं वार्षिकोत्सव समारोहमा सहभागी शिक्षाविद्हरूले विद्यार्थी पलायनको भाष्य चिर्नुपर्नेमा जोड दिएका छन्। अहिले शिक्षा क्षेत्रमा विद्यार्थी पलायनको भाष्यले देशलाई घर्लप्पै छोपे पनि स्थिति साह्रै निराशाजनक नभएको काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले बताए। “नेपालमा साक्षरता दरको तुलना गर्दा उच्च शिक्षा दिने संस्थाको आवश्यकता अझै देखिन्छ,” डा. थापाले भने।
उनले नेपालमा राजनीतिक संक्रमण पाँच दशकदेखि लम्बिएको लम्बियै गर्दा त्यसको असर शिक्षा क्षेत्रमा पनि देखिएको जिकिर गरे। “नेपालमा प्रत्येक राजनीतिक संक्रमणपछि संस्था स्थापना हुने क्रम देखिन्छ र हरेक राम्रो भनिएको संस्थाको आयु २५ वर्ष मात्र रहेको देखिएको छ,” डा. थापाले भने।
अहिले काठमाडौं विश्वविद्यालयले भारतमा योगको कक्षा चलाइरहेको र निकट भविष्यमा अस्ट्रेलियाको सिड्नी तथा हङकङमा पनि कक्षा चलाउने तयारी गरिरहेको बताए। अबका दिनमा विश्वविद्यालय प्रतिस्पर्धी हुनुपर्ने आवश्यकता समेत औंल्याए।
अहिले विद्यार्थी विदेशिनुको कारण आर्थिक असुरक्षा भएको बताउँदै नेपाली शिक्षा ध्वस्त नै भएको मान्न नमिल्ने तर्क क्याम्पसका सञ्चालक समिति सदस्य प्राध्यापक डा. त्रिरत्न मानन्धरको थियो। “रोजगारी सिर्जना गर्ने कार्यमा सरकार र शैक्षिक संस्थाले सहकार्य गर्न जरुरी छ,” मानन्धरले भने।
बागमती प्रदेश सभा सदस्य वसन्त मानन्धरले पिपुल्स क्याम्पसले सामुदायिक कलेजमध्ये एक अब्बल शैक्षिक संस्थाको परिचय बनाएको र यो छविलाई निरन्तर राख्न प्रदेशबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताए। क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले संघले अनुसन्धान एकाइ गठन गरेर अनुसन्धानको काम अघि बढाएको बताउँदै सबैको सहकार्य हुँदा नै सकारात्मक परिणाम आउने हुँदा विश्वविद्यालय, कलेज, विद्यार्थीले सहकार्य गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा पिपल्स क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष निर्मलमणि पन्थी, क्याम्पस प्रमुख मनोजबहादुर कुँवर, सहायक क्याम्पस प्रमुख रोजेस पण्डित, क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले शिक्षालाई रोजगारीसँग जोड्नपर्नेमा जोड दिए।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ। २०७४ सालको स्नातक तह बीबीए समूहका उत्कृष्ट विद्यार्थी मिलन श्रेष्ठ, २०७५ सालकी उत्कृष्ट विद्यार्थी पलिस्था शाक्य, २०७४ सालको स्नातक तह बीबीएम समूहका उत्कृष्ट विद्यार्थी अनिता भट्टराई, २०७५ सालकी उत्कृष्ट विद्यार्थी ग्रिसिका डंगोललाई गुडविल फाइनान्स एन्ड इन्भेस्टमेन्ट लिमिटेडले प्रायोजन गरेको नगद पुरस्कार प्रदान गरिएको थियो।
समारोहमा कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने ज्योतिका शाक्यलाई पनि पुरस्कृत गरिएको थियो। उत्कृष्ट सबै विद्यार्थीलाई स्व. लक्ष्मीदेवी मानन्धरको स्मृतिमा नगद तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो।
त्यस्तै, क्याम्पसमा २५ वर्ष अटुट सेवा गरेका प्राध्यापक डा. गोपालकृष्ण श्रेष्ठ, प्रमोदराज शर्मा, कमल पौडेल, विपिन देव, शंकरनाथ अधिकारी तथा कर्मचारी पुष्पा मण्डल र राजेश पोडेलाई सम्मान गरिएको थियो।