गाउँपालिकाहरूले अब ‘स्थानीय सरकार’ लेख्ने
गाउँपालिकाहरूले आफ्नो लेटरहेड र बोर्डमा ‘स्थानीय सरकार’ लेख्ने भएका छन्।
गाउँपालिका राष्ट्रिय महासंघको कास्कीमा सम्पन्न केन्द्रीय समिति बैठकले नेपालको संविधान र संघीय कानून अनुसार ‘स्थानीय सरकार’ लेख्ने निर्णय गरेको महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। संवैधानिक व्यवस्था अनुसारका तीन तहका सरकारमध्ये संघीय र प्रदेशले यसअघि नै सरकार लेख्दै आएको र गाउँपालिकाहरूले त्यसैलाई अनुसरण गर्न लागेको पाण्डेको भनाइ छ।
महासंघको बैठकपछि जारी ११ बुँदे घोषणापत्रमा सार्वजनिक खरीद ऐन तथा नियमावलीलाई पनि परिमार्जन तथा संशोधन गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, राष्ट्रिय भूमि आयोगबाट अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दा संकलन गरेको राजस्वलाई रजिस्ट्रेशन शुल्कका रूपमा परिभाषित गरेर स्थानीय सरकारमा समेत बाँडफाँड गर्नुपर्ने उल्लेख छ।