बसमा आगजनीपछि अवरुद्ध राजमार्ग सञ्चालन
स्थानीय बासिन्दाले बसमा आगजनी गरेपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ।
सोमबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको थियो। दुर्घटनापछि स्थानीय बासिन्दाले बसमा आगजनी गरेका थिए।
स्थानीय बासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाएको हो। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालको टोली घटनास्थल पुगेर अवरोध हटाएको हो। स्थानीय बासिन्दासँगको छलफलपछि राजमार्ग सञ्चालनमा आएको उनले बताए।
रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका-२ का सुमन राई र मोटरसाइकलमा सवार दिक्तेल नगरपालिका-१० रुपाकोटकी मुनाकला राईको मृत्यु भएको थियो।