मोटरसाइकललाई ठक्कर दिने बसमा आगजनी, बीपी राजमार्ग अवरुद्ध
सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीय बासिन्दाले आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध छ।
सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नम्बरको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका-१०, रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको थियो।
त्यस्तै, मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका-२ का सुमन राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
रामेछापको सुनकोशी गाउँपालिका-३, बोहोरेटारमा उक्त दुर्घटना भएको थियो। उनीहरूको मृत्युपछि स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्।
आगलागीले बसमा क्षति पुगेको छ। बसमा आगजनी भएपछि बीपी राजमार्गमा सवारी आवागमन बन्द भएको छ।