करेन्ट चाउचाउको छलाङ
पिरो र मसलादार स्वादमा विदेशी चाउचाउसँग प्रतिस्पर्धा गरिरहेको करेन्टले धेरैजसो कच्चा पदार्थ रैथाने नै प्रयोग गरेर रोजगार समेत बढाइरहेको छ।
बुटवलको हाटबजारकी रमाकली अधिकारीले सातामा तीन दिन करेन्ट चाउचाउ खाएकै हुन्छिन्। कारण रहेछ- यसको पिरो र मसलादार स्वाद। अधिकारी भन्छिन्, “मलाई हट एन्ड स्पाइसी खानेकुरा मन पर्छ, त्यसैले करेन्ट खाऊँ खाऊँ लागिहाल्छ।”
नेपाली बजारमा २०३० को दशकदेखि चाउचाउ उपलब्ध छन्। यसबीच अनेक ब्रान्ड आए, कति हराए पनि। वाइवाइ, रारा जस्ता चाउचाउले आफ्नो छुट्टै बजार बनाइरहेकै छन्। तर स्वदेशी ब्रान्डमा पिरो र मसलादार स्वादका चाउचाउ नहुँदा त्यसको ठाउँ विदेशीले लिइरहेका थिए। तीन वर्षअघि आएको करेन्टले त्यही स्वाद विदेशी ब्रान्डको भन्दा सस्तोमा पस्किएर तिनको बजार आफूतिर तानिरहेको छ।
उत्पादक कम्पनी यशोदा फूड्स प्रालिका सञ्चालक चुन्नु पौडेल ‘स्पाइसी’ स्वादकै कारण करेन्ट रुचाइएको पाइएको बताउँछन्। रुपन्देहीका ६ उद्योगीहरू चुन्नु पौडेल, मधु घिमिरे, कमल मालपानी, नरीश्वर पौडेल, श्रवण बेरिवाल र ऋषिराम भण्डारीले चलाएको कम्पनीको मुख्य कार्यालय तिलोत्तमा नगरपालिकाको पत्थरडाँडामा सिद्धार्थ राजमार्गको छेवैमा छ।
पाँच वर्षअघि ‘लाली’ चाउचाउबाट उत्पादन थालेको यशोदा फूड्सले सँगै भुजिया, चीजबल्स, कुरकुरे पनि उत्पादन गर्न थाल्यो। वाइवाइ, रमपम, प्रीति जस्ता तयारी चाउचाउको दबदबा रहेको अवस्थामा आफ्नो पहिचान बनाउन निकै मेहनत गर्नुपरेको कम्पनीका निर्देशक ऋषिराम भण्डारी बताउँछन्।
बजार विस्तारका लागि उनीहरू आफैं विभिन्न स्थान पुग्थे। “शुरूमा उत्पादन बजारमा लगेर प्रतिक्रिया बुझ्दा आमउपभोक्ताले चाउचाउमा नयाँ स्वाद खोजिरहेको थाहा पायौं,” भण्डारी भन्छन्, “बजारमा पिरो स्वादमा कोरियन चाउचाउ थियो तर त्यो महँगो भएकाले सबैको पहुँचमा थिएन। हामीले नेपाली उपभोक्ताले धान्न सक्ने मूल्यमा त्यस्तै चाउचाउ बनाउने सोच्यौं।”
कोरियन चाउचाउको दबदबा रहेको वेला करेन्टको अवस्था कस्तो होला भन्नेमा उनीहरू पनि चिन्तित थिए। उपभोक्तालाई उस्तै चाउचाउ हो भन्ने देखाउन कोरियन भाषामा पनि नाम लेखेका थिए। पछि त्यही ब्रान्ड बनिदियो।
सञ्चालक नरीश्वर पौडेलका अनुसार साढे २०० रुपैयाँसम्म तिरेर कोरियाली ब्रान्डका ‘रामेन’ चाउचाउ खाइरहेका उपभोक्तालाई कम्पनीले अहिले ५० रुपैयाँमै करेन्ट उपलब्ध गराइरहेको छ। “स्पाइसी स्वाद अनि सस्तो पनि भएकाले नेपालमा बजार पाउन समय लागेन,” पौडेल भन्छन्, “बरु विदेशतिर पनि यसको माग बढ्यो। उल्टै कोरियातर्फ निर्यात हुन लाग्यो।” यद्यपि रामेन र करेन्ट चाउचाउको गुणस्तर कति फरक हो भन्ने स्वतन्त्र खाद्यविज्ञबाट प्रमाणित भने भइसकेको छैन।
नेपाल ल्याउँदा भन्सार कर समेत तिर्नुपर्ने भएकाले विदेशी चाउचाउ महँगो पर्छ। यशोदा फूड्समा बढीजसो स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरिने र भन्सार पनि तिर्नुनपरेकाले ‘करेन्ट’ को लागत सस्तो परेको पौडेलको भनाइ छ। “हामीले नाफाको मार्जिन पनि थोरै राखेका छौं,” उनी भन्छन्।
कम्पनी आफैंले अहिलेसम्म चाउचाउ विदेश निर्यात गरेको छैन। ठूला विक्रेताले करेन्ट चाउचाउ विदेश पठाइरहे पनि आफूहरूसँग त्यसको यकीन हिसाब नरहेको कम्पनीले जनाएको छ। यद्यपि विक्रेताले नै दिएको तथ्यांकलाई आधार मानेर कम्पनीले गत वैशाखमा पिरो स्वादको करेन्ट चाउचाउ वर्षमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात हुने गरेको विवरण सार्वजनिक गरेको थियो।
निकट भविष्यमा आफैंले निर्यात गर्ने तयारी रहेको कम्पनीका सिनियर जनरल म्यानेजर रमेश विष्ट बताउँछन्। विक्रेताबाटै लिएको तथ्यांकका आधारमा उनी अहिले कम्तीमा १० वटा देशमा करेन्ट गइरहेको सुनाउँछन्। ती देशमा भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, भूटान, कोरिया, जापान, नेदरल्यान्ड्स, मलेशिया, पाकिस्तान आदि पर्छन्।
चार बिघामा फैलिएको यशोदा फूड्सले लाली र करेन्टसँगै अहिले जुप्पी, कालिज, गोलु, ओप्पो लगायत चाउचाउ उत्पादन गर्छ। यससँगै चीजबल्स, कुरकुरे र भुजिया गरी ४० भन्दा बढी प्रकारका खानेकुरा उत्पादन गर्छ। अहिले लाली पनि पिरो र मसलादार स्वादमा प्रतिगोटा २० रुपैयाँमा पाइन्छ। यसको तौल करेन्टको भन्दा कम रहेकाले मूल्य पनि कम राखिएको हो।
चाउचाउ उत्पादनका लागि उद्योगसँग तीन वटा प्लान्ट छन्। एउटाबाट ‘करेन्ट- हट एन्ड स्पाइसी’ मात्र उत्पादन हुन्छ। कम्पनीका अनुसार दैनिक २० टनभन्दा बढी चाउचाउ उत्पादन गरिने भए पनि कहिलेकाहीं बजार माग धान्न हम्मे पर्छ। करेन्ट मात्र दैनिक १० हजार कार्टुन अर्थात् दुई लाख प्याकेट उत्पादन हुन्छ। दैनिक करीब ६०-७० टन मैदा र ५०० किलोग्राम डल्ले (अकबरे) खुर्सानी प्रयोग हुन्छ।
सञ्चालक पौडेल अरूभन्दा स्वस्थकर मानिने भएकाले अकबरे खुर्सानी प्रयोग गरिएको बताउँछन्। “त्यसमाथि नेपालकै किसानले फलाएको खुर्सानी प्रयोग गरिरहेका छौं,” उनी भन्छन्।
करेन्टको बजारसँगै नेपालमा उत्पादित अकबरेले पनि भाउ पाउन थालेको छ। पहिले ६०-७० रुपैयाँ किलोमा समेत नबिकेकोमा अहिले प्रतिकिलो २००-३०० रुपैयाँ पाइरहेको किसान बताउँछन्।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ का किसान लक्ष्मण आचार्यका अनुसार उनले अघिल्लो वर्ष २० क्विन्टल अकबरे खुर्सानी यशोदा फूड्सलाई बेचे। दुई रोपनीमा लगाएको खुर्सानीले राम्रो आम्दानी दिएपछि यस वर्ष तीन रोपनीमा विस्तार गरेका छन्। आचार्य भन्छन्, “चार वर्षअघि सात-आठ हजार रुपैयाँको खुर्सानी बेचेकोमा अघिल्लो वर्ष २० गुणा धेरै बेचें। चाउचाउ उद्योगले बजार दिएको छ।”
वडामा २४ किसानले ठूलो परिमाणमा अकबरे उत्पादन गरिरहेको वडाध्यक्ष दानबहादुर पौडेल बताउँछन्। उनका अनुसार उत्पादित अकबरे गाउँमै रहेको संकलन केन्द्रले खरीद गर्छ। त्यहाँबाट यशोदा फूड्सले लैजान्छ। “किसानले अघिल्लो वर्ष सिजन अनुसार २०० देखि २३५ रुपैयाँ प्रतिकिलोसम्म बेचेका थिए, गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ,” वडाध्यक्ष पौडेल भन्छन्।
यशोदा फूड्सले गुल्मी, अर्घाखाँची, स्याङ्जा, भोजपुर, इलाम, मकवानपुर, काभ्रे आदि जिल्लाबाट पनि खुर्सानी खरीद गर्छ। “चाउचाउमा प्रयोग हुँदै आएको ८० प्रतिशत जति कच्चा पदार्थ स्वदेशी नै छ,” सिनियर जनरल म्यानेजर विष्ट भन्छन्। उनका अनुसार मैदा, मटर, प्याज लगायत कच्चा पदार्थ स्वदेशकै खपत हुन्छ। आयात गरिने २० प्रतिशतमा तेल तथा अन्य मरमसला पर्छन्।
करेन्ट चाउचाउले आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब रुपैयाँभन्दा बढी र आर्थिक वर्ष २०७९/८० मा करीब पाँच अर्ब रुपैयाँको काराबोर गरेको कम्पनीको तथ्यांक छ। अब भारतको उत्तरप्रदेशतर्फ चाउचाउ निर्यात गर्न कपिलवस्तुको चन्द्रौटामा नयाँ ‘प्लान्ट’ बनाउने तयारी हुँदै छ। “यशोदाले करेन्ट ब्रान्डमै गुन्द्रुक र सिन्कीको स्वादको चाउचाउ पनि उत्पादन गरिरहेको छ। यिनको माग उच्च छ। कपिलवस्तुको उद्योगले माग धान्न भरथेग गर्नेछ,” सञ्चालक पौडेल भन्छन्।
चन्द्रौटामा चार बिघा जमीनमा २०७९ माघदेखि संरचना निर्माण भइरहेको छ। चीनबाट प्लान्ट ल्याएर जडान हुँदै छ। त्यहाँबाट सन् २०२४ को शुरूतिरबाट उत्पादन थालिने र वार्षिक साढे १२ हजार टन उत्पादन हुने पौडेल बताउँछन्।
कोशी प्रदेशमा पनि चाउचाउको ‘युनिट’ थप्ने कम्पनीको योजना छ। त्यसका लागि जग्गा व्यवस्थापनको काम चलिरहेको छ। “नेपालका लगभग सबै भूभागमा करेन्ट ब्रान्डका चाउचाउ पुगेका छन्,” पौडेल भन्छन्, “तर माग घटेको छैन। विदेश पठाउन पनि नयाँ उद्योग चाहिएका हुन्।”