आरती साहको हत्याका आरोपी मोतीबाबु पक्राउ
जनकपुरधामकी आरती साहको हत्याका आरोपी उनका पति मोतीबाबु साहलाई पक्राउ गरिएको छ।
मोतीबाबुलाई सोमबार बिहान जनकपुरधामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अभाले बताए। सर्वोच्च अदालतको आदेशका आधारमा मोतीबाबुलाई पक्राउ गरिएको डीएसपी अभाले बताए।
गत जेठ ७ गते आरती जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोकस्थित घरमै मृत भेटिएकी थिइन्। परिवारजनले हत्या गरेको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको थियो। आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन साह लगायत परिवारजनलाई विपक्षी बनाइएको थियो।
जिल्ला अदालत र उच्च अदालतले दुवै जनालाई पुर्पक्षका लागि साधारण तारेखमा छोड्ने आदेश दिएको थियो। त्यस विरुद्ध आरतीकी आमा निर्मलादेवी साहले काठमाडौंको माइतीघर मण्डलमा अनशनमा बसेकी थिइन्। त्यस्तै परिवारजनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उच्च अदालतको आदेश उल्टाएको थियो। आरतीका पति मोतीबाबुलाई पक्राउ गर्न र ससुरा मदनलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
सर्वोच्चको आदेश अनुसार धनुषा प्रहरीले सोमबार मोतीबाबुलाई पक्राउ गरेको हो। उनलाई आजै जिल्ला कारागार चलान गरिने डीएसपी अभाले बताए।