हिन्द महासागरमा केमिकल ट्यांकरमाथि हमला, इरान संलग्न भएको अमेरिकी दाबी
अमेरिकी सेनाका अनुसार हिन्द महासागरमा जापानी स्वामित्वको केमिकल ट्यांकरमा इरानबाट ड्रोन आक्रमण गरिएको छ।
भारतको गुजरात बन्दरगाहबाट ३७० किलोमिटर पर २४ डिसेम्बरमा उक्त हमला भएको अमेरिकी सेनाले दाबी गरेको बीबीसीले उल्लेख गरेको छ।
हमलाका कारण कुनै संरचनागत र मानवीय क्षति नभएको र ट्यांकरमा लागेको आगो नियन्त्रणमा लिइएको बताइएको छ। बीबीसीका अनुसार भारतीय जल सेनाले हवाईजहाज र युद्धपोत पठाएको थियो।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको विज्ञप्तिमा ‘केम प्लुटो’ नामको, लाइबेरियाली झन्डा भएको र नेदरल्यान्ड्सले सञ्चालन गरेको उक्त ट्यांकरमा इरानबाट एकतर्फी ड्रोन हमला भएको हो। यस घटनालाई लिएर इरानले कुनै टिप्पणी गरेको छैन।
इरानले आड दिएको एवं प्यालेस्टाइनको हमासको समर्थनमा इजरायल विरुद्ध युद्ध छेडेको येमनी विद्रोही समूह हुथीले लाल सागरमा जहाजहरूमाथि ड्रोन र रकेट आक्रमण गर्दै आएका छन्।
सामुद्रिक सुरक्षा फर्म एम्ब्रेका अनुसार यो घटना भने त्यहाँबाट निकै पर भएको हो। कम्पनीले जनाए अनुसार उक्त ट्यांकर साउदी अरबबाट भारततर्फ हिंडेको थियो, जसको सम्बन्ध इजरायलसँग थियो।
हुथी समूहले गाजामा आक्रमण हुँदासम्म इजरायलसँग सम्बन्धित पानीजहाजहरूमा आक्रमण गर्ने घोषणा गरेको छ।
अमेरिकाले पहिलो पटक सार्वजनिक रूपमा इरानलाई पानीजहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। यसअघि लाल सागरमा व्यापारिक जहाजमाथिको आक्रमणमा इरान संलग्न भएको अमेरिकी आरोपलाई इरानले अस्वीकार गरेको थियो। यद्यपि इरानको ‘रेभोलुसनरी गार्डस्’ ले ‘अमेरिका र उसको गठबन्धनले गाजामाथिको अपराध जारी राखेमा’ लाल सागरभन्दा अन्यत्रको जलमार्ग बन्द गर्न बाध्य हुने चेतावनी दिएको थियो।