हरेक दिन २५ वटा विद्युतीय गाडी भित्रिंदै
सरकारले दिएको कर छूटले नेपाली बजारमा विद्युतीय गाडीको आकर्षण अभूतपूर्व ढंगले बढेको छ। पछिल्ला महीनामा हरेक दिन सरदरमा २५ वटा विद्युतीय गाडी नेपाल भित्रिइरहेको तथ्यांकले देखाएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मंसीर महीनासम्मको तथ्यांकले पाँच महीनाको अवधिमा तीन हजार ६८६ वटा विद्युतीय कार, जीप, भ्यान नेपाल आएको देखाएको छ। यो गत वर्षको भन्दा दोब्बर हो। गत आर्थिक वर्षको पहिलो पाँच महीना (साउन-मंसीर)को अवधिमा एक हजार ३४३ वटा विद्युतीय कार, जीप, भ्यान नेपाल भित्रिएका थिए।
भन्सार विभागका अनुसार गत साउनदेखि मंसीर मसान्तसम्म आयात भएका विद्युतीय गाडीमध्ये अधिकांश १०० किलोवाट क्षमताभन्दा घटीका छन्। यो अवधिमा ५० किलोवाट क्षमताभन्दा साना विद्युतीय गाडी एक हजार ५९५ र ५० देखि १०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडी दुई हजार २८ वटा आयात भएका छन्।
सरकारले विद्युतीय गाडीमा व्यापक कर छूटको सुविधा दिएपछि उपभोक्ता आकर्षित भएका हुन्। सरकारले कम क्षमताका विद्युतीय गाडीमा ठूलो कर छूटको सुविधा दिएको छ। ५० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार महसूल १० प्रतिशत मात्रै छ। ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार महसूल १५ प्रतिशत मात्रै छ। पेट्रोल र डिजेलमा आधारित विद्युतीय सवारीका तुलनामा यो निकै थोरै हो।
कतिपय आलोचकले विद्युतीय गाडीमा दिएको कर छूटको सुविधाबाट सरकारले ठूलो राजस्व गुमाइरहेको र त्यसको लाभ सवारीसाधन खरीद गर्न सक्ने क्षमता भएका धनीले उठाइरहेको बताउने गरेका छन्।
चारपांग्रे मात्रै होइन, तीनपांग्रे विद्युतीय गाडीको आयात पनि उल्लेख्य बढेको छ। भन्सार विभागका अनुसार साउनदेखि मंसीरसम्म पाँच हजार ६१७ वटा तीनपांग्रे विद्युतीय गाडी आयात भएको छ। गत वर्षको यही अवधिमा तीन हजार ६६२ वटा विद्युतीय तीनपांग्रे गाडी नेपाल भित्रिएका थिए।
आयात घट्यो
विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालले ६ खर्ब ४२ अर्ब रुपैयाँका वस्तु भारत सहितका देशबाट आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ३.३९ प्रतिशत थोरै हो। बजारमा आर्थिक क्रियाकलाप सुस्त भएको र माग खस्किएका कारण आयात कम भएको अनुमान गरिएको छ।
विभागका अनुसार यो अवधिमा नेपालले ६३ अर्ब २० करोडको वस्तु निर्यात गरेको छ। यो गत वर्षको यही अवधिमा तुलनामा ६ प्रतिशत थोरै हो।
यस वर्षको पहिलो पाँच महीनामा नेपालले वैदेशिक व्यापारमा पाँच खर्ब ७९ अर्ब घाटा बेहोरेको छ।