एमाले सांसद कोइरीको निलम्बन फुकुवा
नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ५ बमोजिम सांसद कोइरीको निलम्बन फुकुवा भएको संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन्।
हत्या अभियोग लागेका सांसद कोइरीलाई सभामुख घिमिरेले गत वैशाख १९ गते निलम्बन गरेका थिए। उनले प्रतिनिधि सभाको नियमावली २०७९ को नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरी निलम्बित भएको जनाएका थिए। त्यति वेला हत्या अभियोगमा सांसद कोइरी विरुद्ध जिल्ला अदालत, महोत्तरीमा मुद्दा विचाराधीन थियो।
त्यस मुद्दामा जिल्ला अदालतले पुस ४ मा सांसद कोइरीलाई सफाइ दिएको थियो। अदालतले सफाइ दिएपछि उनले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए। त्यसका आधारमा आज उनको निलम्बन फुकुवा भएको हो।
उनी गत वर्ष भएको प्रतिनिधि सभाको निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित भएका हुन्।