बाघको आक्रमणबाट बर्दियामा साढे चार वर्षमा ३४ जनाको मृत्यु
बाघको आक्रमणबाट बर्दियामा पछिल्लो साढे चार वर्षको अवधिमा ३४ जनाको ज्यान गएको छ।
शनिबार स्कूल बिदा भएकाले बर्दियाको बारबर्दिया नगरपालिका-४, बैरिया गाउँका १२ वर्षीय सुमित थारू घर नजिकै बबई नदीमा नुहाउन गएका थिए। बबईको किनारमा हिंडिरहेका सुमितलाई दिउँसै बाघले आक्रमण गर्यो।
बबईछेउको जिराह सामुदायिक वन नजिकै बाघको आक्रमणमा परेका सुमित गम्भीर घाइते भए। स्थानीय बासिन्दाले उनलाई अस्पताल पुर्याए। जयनगरस्थित आरसी थारू मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको ज्यान गयो।
गत महीना घर नजिकैको सामुदायिक वनमा घाँस काट्दै गरेकी मधुवन नगरपालिका-३ की ५५ वर्षीया कली बंसी मगरलाई बाघले आक्रमण गर्यो। घटनास्थलमै उनको ज्यान गयो।
पछिल्लो केही वर्षयता बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेको छ। खेतबारीमा काम गर्दा तथा जंगलमा घाँसदाउराका लागि जाँदा बाघले आक्रमण गरेर स्थानीय बासिन्दाले ज्यान गुमाइरहेको स्थानीय भावुक योगी बताउँछन्।
विशेष गरेर पछिल्लो तीन-चार वर्षयता बाघको आक्रमण बढेको योगी बताउँछन्। “पहिला बर्दियाका बासिन्दा हात्तीबाट पीडित थिए। पछिल्ला समय बाघ र चितुवाबाट पीडित छन्,” योगी भन्छन्। खास गरेर बर्दिया राष्ट्रिय निकुञ्जसँगै वन क्षेत्र नजिकका बासिन्दाले ज्यान गुमाइरहेको उनी बताउँछन्।
बाघको आक्रमणबाट पछिल्लो साढे चार वर्षमा ३४ जनाको ज्यान गएको डिभिजन वन कार्यालयको तथ्यांक छ। डिभिजन वनका सूचना अधिकारी प्रवीण बिडारीले बाघबाट बच्न सचेतना कार्यक्रम गर्दै आएको भए पनि घटनामा कमी नआएको बताए।
बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख आशिष न्यौपाने यस वर्ष निकुञ्ज क्षेत्रभित्र मानवीय क्षतिका घटना नभएको बताउँछन्। “यस वर्ष निकुञ्ज क्षेत्रभित्र मानवीय क्षतिका घटना भएका छैनन्, वन क्षेत्रमा भएका छन्,” उनी भन्छन्।
निकुञ्ज मार्फत समुदायदेखि विद्यालयसम्म विविध सचेतना अभियान चलाएकाले बाघको आक्रमणबाट हुने घटनामा कमी आएको उनको भनाइ छ। “बाघबाट जोगिन विद्यालयमा वातावरणमैत्री शिक्षादेखि समुदायमा सचेतना अभियान चलाइरहेका छौं,” न्यौपाने भन्छन्, “गाउँसँग जोडिएका सम्भावित क्षेत्रमा तारजाली, सीसी क्यामेरा राख्ने र रणनीतिक योजना बनाएर अगाडि बढेका छौं।”
विशेष गरेर मधुवन नगरपालिका, ठाकुरद्वारा नगरपालिका र गेरुवा नगरपालिका क्षेत्रमा बढी घटना भएका छन्। राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका र गुलरिया नगरपालिका पनि जोखिमयुक्त क्षेत्र हुन्।