पर्यटक आकर्षित गर्न भेडेटारमा खाना उत्सव
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटकीय स्थल भेडेटारमा ‘फूड फेस्टिभल (खाना उत्सव)’ आयोजना गरिंदै छ।
आगामी पुस १५ देखि १७ गतेसम्म एघारौं खाना उत्सव आयोजना गर्न लागिएको हो। राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवार लगायत जातिका मौलिक खानाका परिकार सहित साहसिक खेल प्रवर्द्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा खाना उत्सव केन्द्रित रहने आयोजकले बताएका छन्।
होटल एशोसिएशन अफ भेडेटारको आयोजनामा हुने उत्सवमा स्थानीय धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्द्धन गरी घुम्ने वातावरण तयार गरेको एशोसिएशनका अध्यक्ष तमुराज लिम्बूले बताए। त्यस्तै, कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, पाराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम लगायत गतिविधि सञ्चालन हुनेछन्। त्यस्तै, जीपलाइन, स्काई ब्रिज र माउन्टेन बाइक लगायत साहसिक खेल पनि आयोजना हुने उनले बताए।
२०६८ सालदेखि उत्सवका रूपमा मनाउन थालिएको थियो। उत्सवले गर्दा होटल, पूर्वाधार लगायतमा विकास निर्माणका काम पनि हुँदै गएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए। भेडेटारमा पर्यटन प्रवर्द्धनका लागि कोशी किनारस्थित खुवालुङदेखि ध्वजेडाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथन लगायत गतिविधि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रुम्दालीले बताए।
भेडेटारमा आन्तरिकसँगै बाह्य पर्यटक आउने गरेका छन्। विशेष गरेर भारतीय पर्यटकका लागि भेडेटार आकर्षणको केन्द्र बनेको छ।