दुबईबाट रूसी सेनामा गएका धनुषाका विमल सम्पर्कविहीन
रूसी सेनामा भर्तीका लागि जानुअघि विमलले परिवारसँग डेढ लाख रुपैयाँ माग्दै भनेका थिए, “दुबईबाट हामी २०० जना जाँदै छौं।”
सानैदेखि सैनिक सेवामा रुचि भएका धनुषाको मिथिलाका नगरपालिका-७, केमलीपुरका विमलकुमार गजमेरले एसएलसी उत्तीर्ण गरेपछि पटक पटक भर्तीका लागि प्रयास गरेका थिए। धेरै पटकको प्रयासमा पनि सेनामा भर्ना हुन नसकेपछि उनी वैदेशिक रोजगारीका लागि दुबई गए।
पछिल्लो पटक दुबई पुगेको दुई वर्ष भएको थियो। दुई वर्षसम्म पनि घरको ऋण तिर्न सकेका थिएनन्। घरपरिवारसँग पनि खासै कमाइ नभएको बताइरहेका थिए।
भदौ पहिलो साता घरमा फोन गर्दै विमलले उल्टै पैसा मागे। परिवारले केही अप्ठ्यारो पर्यो कि भनेर सोधखोज गर्दा उनले भनेका थिए, “रूसी सेनामा भर्ती हुन जान्छु।”
त्यति वेला विमलले घरपरिवारसँग डेढ लाख रुपैयाँ मागेको आमा सौमाया विश्वकर्मा बताउँछिन्। “रूसी सेनामा भर्ती हुन जान्छु। दुबईबाट २०० जना जाँदै छौं,” विमलको भनाइ उद्धृत गर्दै सौमाया भन्छिन्, “रूस जान डेढ लाख रुपैयाँ लाग्छ, पठाइदिनुस् भनेको थियो।”
घरमा पैसा थिएन। ऋण निकाल्न सौमायाको हिम्मत जुटेन।
त्यसपछि विमलले लेबनानमा रहेका दाइसँग पैसा मागेको सौमाया सुनाउँछिन्। “लेबनानबाट दाइसँग पैसा मागेर रूस गएछ,” उनी भन्छिन्, “भदौ २० मा रूस पुगें भनेर खबर गरेको थियो।”
रूसी सेनासँग सम्पर्क भएको पनि विमलले घरमा जानकारी गराएको बुबा तिलकबहादुर विश्वकर्मा बताउँछन्। “मस्को पुगिसकें, रूसी सेनासँग सम्पर्क भइसक्यो भनेको थियो,” तिलक भन्छन्, “भदौ २० मा रूस पुगेको थियो। रूस पुगेको एक महीनासम्म कुराकानी भइरहेको थियो।”
त्यसयता विमल सम्पर्कमा छैनन्। रूसी सेनामा गएका नेपालीको मृत्यु र युक्रेनमा बन्दी बनाएका समाचार आइरहेका वेला विमलको परिवार चिन्तित छ।
विमलसँगै रूस गएका दुई जनामध्ये दोलखाको रामचन्द्र श्रेष्ठ भागेर नेपाल फर्किसकेका छन्। रामचन्द्रले पनि रूस पुगेपछि तीन जना तीन टोलीमा बाँडिएको बताएका छन्।
नेपाल फर्केपछि सञ्चारकर्मीसँगको अन्तर्वार्तामा आफूसँगै गएका चितवनका करण खड्का पनि उतै रहेको बताएका छन्। तर विमलका विषयमा भने जानकारी नभएको उनको भनाइ थियो।
परराष्ट्र मन्त्रालयका अनुसार रूसी सेनामा भर्ती भएका सात जना नेपालीको युक्रेनसँगको युद्धका क्रममा ज्यान गइसकेको छ। एक साताअघि मात्रै कञ्चनपुरका कुन्दनसिंह नागालकाे मृत्यु भएको खबर आएको थियो।
रूस-युक्रेन युद्धका क्रममा गोरखाका सन्दीप थपलिया, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार रोका र कुसुम लामा रोका, स्याङ्जाका प्रितम कार्की, कैलालीका भरत शाह र कञ्चनपुरका कुन्दनसिंह नागालको ज्यान गएको छ।
त्यस्तै, रूसी सेनामा भर्ती भएका चार जना नेपाली बन्दी बनेका छन्। बर्दियाको राजपुर-१ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउपुर-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रुन्टिगढी-८ का प्रतीक पुन युक्रेनमा बन्दी अवस्थामा छन्। युद्धका क्रममा उनीहरूलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो।
असोजयता छोरा सम्पर्कमा नआएपछि विमलका परिवार चिन्तित छन्। उनीहरूले छोराको खोजीका लागि सरकारलाई आग्रह गरेका छन्। केही दिनअघि मात्रै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव मार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र पठाएका थिए।
विमललाई घर फर्काउन पहल गरिदिन आमा सौमायाले सरकारसँग आग्रह गरेकी छन्। “मेरो छोरा के कस्तो अवस्थामा छ, जानकारी पाइयोस्,” उनी भन्छिन्, “सरकारले छोरालाई सकुशल घर फर्काउन पहल गरिदेओस्।”
यो पनि पढ्नुहोस् : रूस-युक्रेन युद्धमा ज्यान गुमाउँदै नेपाली, अनदेखा गर्दै सरकार