मध्यपहाड रित्तिंदा देशकै भविष्य अप्ठ्यारोमा पर्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्र रित्तिंदै जाँदा देशकै भविष्य अप्ठ्यारोमा पर्ने बताएका छन्।
एमालेले मध्यपहाडी राजमार्गको समृद्धिका लागि संकल्प यात्रा गरेको थियो। बैतडीको झुलाघाटबाट शुरू भएको यात्रा ताप्लेजुङको चिवाभन्ज्याङ पुगेको थियो। यस यात्राका क्रममा देखेभोगेका समस्या र सम्भावनाका विषयमा आइतबार सञ्चारकर्मीसँगको संवादका क्रममा अध्यक्ष ओलीले मध्यपहाडी क्षेत्रको महत्त्वबारे जानकारी दिएका हुन्।
पहाडी क्षेत्रमा विकास निर्माणका काम चलिरहेको भए पनि मान्छे बसाइँ सरिरहेको उनले उल्लेख गरे। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, “मध्यपहाडी क्षेत्रमा रोजगारीका अवसर सिर्जना नहुने, खेतीबारी बन्जर हुँदै जाने हो, त्यहाँका बासिन्दा बसाइँसराइँ हुँदै जाने हो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने देख्या छु।”
उनले मध्यपहाडी क्षेत्रलाई समृद्ध बनाउन राजनीतिक दल र सरकार लाग्नुपर्नेमा जोड दिए। “बाटो पुगेको छ, बिजुली पुगेको छ, खानेपानी पनि पुगेको छ। बाटो पुगेपछि उत्पादनले बजार पनि पाउँदै छ तर मान्छे बसाइँ सरिरहेका छन्,” ओलीले भने।
मध्यपहाडी क्षेत्रलाई रित्तिन नदिन रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता देखेको बताए। “कृषि उपज मात्रै होइन, त्यसमा आधारित अन्य उद्योग स्थापना गर्नुपर्छ। कृषिलाई उद्योगमा परिणत गर्दै जानुपर्छ,” ओलीले भने।