संक्रमणकालीन न्यायबारे शीर्ष नेताबीच छलफल
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा शीर्ष नेताबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले बताए। बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिंदै नेता लेखकले विधेयकलाई सहमतिमै अघि बढाइने बताए।
आजको बैठकमा तीनै जना नेताले संक्रमणकालीन न्यायका विषयमा धारणा राखेका थिए। उनीहरूले संक्रमणकालीन न्यायलाई कसरी छिटो टुंगोमा पुर्याउने भन्ने विषयमा छलफल गरेको लेखकको भनाइ छ।
यस विषयमा फेरि छलफल हुनेछ। यसका लागि सोमबार अपराह्न ४ बजे फेरि बैठक बस्ने तय भएको लेखकले बताए।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ। त्यसमा पीडित पक्षले असहमति जनाउँदै आएको छ। जसका कारण यो विधेयक अघि बढ्न सकेको छैन।