‘लाहुरेको रेलिमाई’ लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार- २०७९ विजय हितानको उपन्यास लाहुरेको रेलिमाईलाई प्रदान गर्ने निर्णय गरिएको छ।
गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले एक विज्ञप्ति जारी गर्दै २०७९ सालभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिमध्ये विजय हितानको उपन्यास लाहुरेको रेलिमाईलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको बताए।
समितिले गैरआवासीय नेपाली साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशि र सम्मानपत्र सहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ। साहित्यकार हितान बेलायतमा बसोबास गर्दै आएका छन्।
पहिलो पटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो। त्यसैगरी २०७८ सालको पुरस्कार चेतनाथ आचार्यको उपन्यास रुइबालाई प्रदान गरिएको थियो।
गीतसंगीत मार्फत नेपाली जातित्वको जागरणमा लागेका मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान लाहुरेको रेलिमाईले प्रथम विश्वयुद्धको विदारक एवं कारुणिक चित्रण प्रस्तुत गरेको छ। लेखक हितानलाई गैरआवासीय नेपाली संघले एक विशेष समारोहबीच पुरस्कार प्रदान गर्नेछ।