रवि लामिछानेमाथि किन भयो मकैको खोया प्रहार?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि शनिबार पोखरामा मकैको खोया प्रहार भएको छ।
सभापति लामिछाने शनिबार पोखराको अमरसिंह चोकको खेलमैदानमा सभालाई सम्बोधन गरिरहेका थिए। उनी बोल्दै गर्दा सभामा सहभागी हूटिङ गरिरहेका थिए। कतिपय ताली बजाइरहेका थिए।
लामिछानेले भाषण गरिरहेकै वेला स्टेज अघिल्तिर उभिइरहेका एक युवकले मकैको खोयाले प्रहार गरे। मकैको खोयाले लामिछानेलाई त लागेन तर स्टेजमा लाग्यो।
युवकले जानाजान नै उनलाई ताकेर खोया प्रहार गरेको प्रत्यक्षदर्शीले बताए। “रवि लामिछानेमाथि नै मकैको खोया हानेका हुन्,” एक प्रत्यक्षदर्शीले भने।
मञ्चमा सभापतित्व गरिरहेका रास्वपा कास्की जिल्ला संयोजक योगराज पौडेलले पनि जानाजानै मकैको खोया प्रहार भएको बताए। “अघिल्तिर उभिइरहेका युवाले सभापतिलाई लक्ष्यित गरेरै खोया प्रहार गरेका हुन्,” पौडेलले भने।
मकैको खोया प्रहार गर्ने युवकलाई रास्वपा कार्यकर्ताले कुटपिट गर्न खोजेका थिए। नजिकै सुरक्षामा खटिएका प्रहरीले रास्वपा कार्यकर्ताबाट जोगाउँदै युवकलाई नियन्त्रणमा लिए।
वडा प्रहरी कार्यालय, रामबजारको टोलीले मकैको खोया प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको छ।
रास्वपा सभापति लामिछानेमाथि मकैको खोया प्रहार गर्ने युवक लमजुङ घर भई हाल पोखरा बस्दै आएका २८ वर्षीय सन्तोष रानाभाट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर थापाले बताए। प्रहरीसँगको बयानमा रानाभाटले जानाजान खोया प्रहार नगरेको बयान दिएको एसपी थापाको भनाइ छ।
प्रत्यक्षदर्शीका अनुसार सभापति लामिछानेको भाषणका क्रममा सहकारीको प्रसंग आउँदा रानाभाटले मकैको खोया प्रहार गरेका थिए। उनी सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचतकर्ता भएको धेरैले अनुमान लगाएका थिए।
सूर्यदर्शन सहकारीका पदाधिकारीले बचतकर्ताको एक अर्ब १९ करोड हिनामिना गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यसका पूर्व अध्यक्ष जीबी राईले सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेको प्रहरी अनुसन्धानमा देखिएको थियो। अहिले राई फरार छन्।
ग्यालेक्सी टेलिभिजन शुरूआत गर्दा लामिछाने पनि सहभागी थिए। त्यसैले सहकारीका विषयमा बोल्दा मकैको खोया प्रहार गरिएको हुन सक्ने प्रत्यक्षदर्शीको भनाइ छ।
रास्वपा कास्कीका संयोजक पौडेल भने युवकले किन खोया प्रहार गरे भन्ने यकीन हुन नसकेको बताए। पौडेलले भने, “समग्र देशको अवस्थाले हो अथवा कोहीबाट परिचालित भएर हानेको हो भन्नेबारे सोधपुछकै क्रममा छ।”
सभापति लामिछानेलाई प्रहार गर्ने युवक सहकारीको बचतकर्ता नभएको एसपी थापाको भनाइ छ। प्रहरीसँगको बयानमा आफू सहकारीको बचतकर्ता नभएको बताएको एसपी थापाले सुनाए।
एसपी थापाका अनुसार रानाभाट पोखरामा एक्लै जस्तो देखिएका छन्। पहिले अटोड्राइभर भए पनि अहिले केही काम नगरेरै डुली हिंड्ने गरेको पाइएको उनले बताए। “मानसिक अवस्था असन्तुलित छ कि भन्ने अनुमान गरिएको छ। स्वास्थ्य परीक्षण गर्न पठाएका छौं,” एसपी थापाले भने।
रास्वपा सभापति लामिछानेले भने यो प्रहारलाई सकारात्मक रूपमा लिएको बताएका छन्। युवकले प्रहार गरेको मकैको खोया समातेर सभामा सहभागीलाई देखाउँदै लामिछानेले भाषणका क्रममा भने, “यो चेतावनी दिएको हो, मैले यसलाई सकारात्मक रूपमा लिएको छु।”
युवकले प्रहार गरेको मकैको खोया जोगाएर राख्ने लामिछानेको भनाइ थियो। “म यसलाई तबसम्म जोगाएर राख्नेछु, जबसम्म तपाईं र मैले देखेको साझा सपना पूरा हुनेछैन,” उनले भने, “मेरो घरमा मैले संसारले दिएको वर्ल्ड रेकर्ड पनि राखेको छैन, मेरा लागि त्योभन्दा महत्त्वपूर्ण सर्टिफिकेट एक जना साथीले दिएर जानुभयो। मेरो उहाँप्रति अगाध सम्मान छ।”