‘अस्मिता’ लाई फर्केर हेर्दा
असुरक्षित गर्भपतनले गर्दा कतिपयको त मृत्यु नै भएका घटना देखें। त्यसबारे लेख लेख्दा कति जनाले त ‘नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिनु नै हुन्न, के यस्तो नचाहिने लेखेको’ पनि भन्न भ्याएका थिए।
अस्मिताका बारेमा आज ३५ वर्षपछि लेखिरहँदा अचम्म र रमाइलो दुवै लागेको छ। यसबीचका केही वर्ष अस्मिता प्रकाशित हुन नसकेकामा अलि अलि दुःख लागेको पनि थियो। पछिल्लो समयमा अस्मिताको प्रकाशन निरन्तर हुन सकिरहेको थिएन, यो कहिले आउने, कहिले रोकिने भएको थियो। अब फेरि यसले गति लिने कुराले स्वागतका निम्ति आफ्ना अस्मिताकालीन अनुभूति सहित म उपस्थित भएकी छु।
म अस्मितासँग जोडिएको थिएँ, २०४६ सालमा। अस्मिता त्यस वेला एक प्रगतिशील, वामपन्थी पत्रिका भनी चर्चित थियो। सुसन मास्के र अञ्जु क्षेत्री दुई जना भर्खर विश्वविद्यालयबाट पढेर निस्किएका थिए र त्यस्ता युवतीहरूले पत्रिका निकाल्न खोज्नु नै आपसमा एक ठूलो साहसिक कदम थियो। अस्मितासँग जोडिनमा मलाई डा. महेश मास्केको सहयोग थियो। अस्मितासँग जोडिएपछि मेरो लेखन कला सुचारू भयो।
त्यस वेला लेखिएका महिला स्वास्थ्य सम्बन्धी कतिपय विषयवस्तुहरू अहिले पनि महत्त्वपूर्ण र सान्दर्भिक रहेका छन्। त्यहाँ उठाइएका कतिपय मुद्दामा अहिले कानून बनेका छन् र तिनले प्रत्यक्ष रूपमा महिलाको जीवनमा प्रभाव पारेका छन्। मैले कहिल्यै बिर्सिन नसक्ने एउटा उदाहरण छ, त्यो हो- ‘गर्भपतनको मुद्दा’।
मैले अस्पतालहरूमा काम गर्दा (२०४३ सालदेखि) असुरक्षित गर्भपतन गराइएका कारणले धेरै समस्या भएर आएका महिलालाई पनि उपचार गरेकी थिएँ। असुरक्षित गर्भपतनले गर्दा कतिपयको त मृत्यु नै भएको घटना पनि देखें। त्यसयता गर्भपतनलाई कानूनी मान्यता दिनुपर्छ भनेर मैले अनेक तरीकाले आवाज उठाइरहेकी थिएँ। त्यसका लागि वकालत गर्न अस्मिताको आवाज पनि जोडिन पुगेको थियो।
‘किन गर्भपतनलाई कानूनी मान्यता दिनुपर्छ?’ भन्ने विषयमा अस्मिताका लागि मैले एउटा लेख लेखें। त्यस लेखको सम्पादन भयो, अञ्जु र सुसनबाट। त्यो लेख प्रकाशित भएपछि धेरै पठनीय हुन गयो, धेरै पाठकद्वारा मन पराइयो। मैले पनि विभिन्न व्यक्तिहरूबाट धेरै पृष्ठपोषण पाएकी थिएँ। कति जनाले त ‘नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिनु नै हुन्न, के यस्तो नचाहिने लेखेको’ पनि भन्न भ्याएका थिए।
केही स्त्रीरोग विशषेज्ञहरू समेत नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिनु हुँदैन भन्ने पक्षमा उभिएका थिए। उनीहरू कतिपय आफ्नो निजी क्लिनिकमा धेरै पैसा लिएर गैरकानूनी तरीकाले असुरक्षित गर्भपतन गराइरहेका हुन्थे। वास्तवमा नेपालको कानून अनुसार त गर्भपतन गर्ने-गराउने दुवैलाई १० वर्षदेखि २० वर्षको जेल सजाय हुन्थ्यो तर कुनै पनि ठूला भनिएका, धनी र स्वास्थ्यकर्मीहरू जेल परेका थिएनन्। जेल लगिनेमा गरीब, कमजोर महिलाहरू नै हुन्थे।
त्यस वेला गर्भपतनलाई ‘भ्रूणहत्या’ भन्ने शब्द प्रयोग हुने भएकाले पनि गर्भपतनप्रति धेरै नकारात्मक धारणा थियो। लेख निस्केपछि धेरै जनाले ‘यस्तो साहसी लेखका लागि बधाई’ पनि भनेका थिए।
त्यस वेला असुरक्षित गर्भपतनले समस्या भएर अस्पतालमा आउने र मृत्यु हुने महिलाका विषयमा पनि धेरै खोजी, चर्चा-परिचर्चा हुँदैनथ्यो। त्यस्तो परिवेशमा गर्भपतनको मुद्दालाई सामाजिक र स्वास्थ्यको समस्या मानेर त्यसलाई कानूनी मान्यता दिनुपर्छ भन्ने लेखहरू आउनु आवश्यक भइसकेको थियो। यसले समाजको मानसिकता परिवर्तन गर्न ठूलो भूमिका खेल्यो।
पेशागत रूपमा मेरा लागि त यो एक ठूलो सफलता थियो नै, आमसञ्चारमा अस्मिताको योगदानका रूपमा पनि यो विषयको प्रकाशन र प्रभाव सधैंका निम्ति विशेष हुन पुग्यो। म जब अस्मिताका ती पुराना लेखहरू हेर्छु, मलाई गर्व लाग्छ।
अस्मिताका माध्यमबाट महिला स्वास्थ्यको मुद्दा उठाएर गर्भपतनलाई कानूनी मान्यता दिन सकिएपछि मैले महिला स्वास्थ्य सम्बन्धी अर्को गम्भीर विषय अस्मिता मार्फत नै उठान गरेकी थिएँ- पाठेघर खस्ने समस्याका विषयमा। यस समस्याबारे पनि त्यति वेलासम्म प्रायः बोलिएकै थिएन, पाठेघर खस्ने समस्या महिला स्वास्थ्यको मुद्दा हो भनेर जिम्मेवारीपूर्वक लिइएकै थिएन। मैले सन् १९९५ मा डोटीमा स्वास्थ्य शिविरमा गएर आएपछि सरकारी नीति बनाउन त्यो मुद्दा उठाएकी थिएँ।
जब मैले त्यहाँ धेरै बच्चा जन्माएर, कुपोषण भएर महिलाहरूमा पाठेघर झर्ने समस्या भएको देखें (जुन काठमाडौंमा अति नै कम थियो), मैले आफ्ना ती अनुभव समेत सँगालेर डा. इन्दिरा सत्यालसँग एउटा अन्तर्वार्ता तयार पारी अस्मितामा प्रकाशित गरें। महिला स्वास्थ्यको विकराल बन्दै गएको मुद्दामाथि यो मेरो अर्को आवाज थियो, जुन अस्मिताबाटै सार्वजनिक भएपछि मलाई धेरै आनन्द लागेको थियो। कसैले नउठाएको मुद्दा समाज समक्ष ल्याउन पाएका थियौं। त्यस लेखको सन्दर्भ उठान गरेर पाठेघर खस्ने समस्याबारे मैले धेरै ठाउँमा बोलें।
यस्ता लेखहरूले बिस्तारै सचेतना फैलाएर थाहा नै नपाईकन वकालत गरिरहेका रहेछन् भन्ने पछि पो बुझ्दै गएँ। अस्मिता मार्फत गर्भपतनलाई कानूनी मान्यता दिन वकालत गरिएको मुद्दाले सन् २००२ मा सफलता हात पार्यो। गर्भपतनलाई कानूनी मान्यता दिन भनेर तत्कालीन संसद्ले विधेयक पारित गर्यो। त्यो अस्मिताको पनि सफलता थियो।
त्यसैगरी सन् २०००-२००२ सम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा गएर अनुसन्धान गरी लेखिएको पाठेघर खस्ने समस्या सम्बन्धी लेखले पनि सरकारलाई झकझक्याउन सफल भएको थियो। सन् २००६ मा पाठेघर खस्ने समस्या भएका महिलाका विषयमा एक नीति नै बनाई सरकारले उपचार पनि सित्तैमा दिने भन्ने कार्यक्रम ल्यायो।
अस्मिताले यसरी नै महिलाका पक्षमा आवाज उठाइरह्यो। ‘महिलाहरूलाई सम्पत्तिको अधिकार दिनुपर्छ’ भन्ने विषयमा राष्ट्रव्यापी रूपमा छलफल चलाउन अस्मिताले निकै ठूलो भूमिका निर्वाह गरेको थियो। अस्मिताका सम्पादकहरू नै विभिन्न ठाउँमा पुगेर यसको अध्ययन गरेर पत्रिकामा निकै जोडदार तरीकाले महिलाको सम्पत्ति-अधिकारबारे छलफल चलाएका थिए। उनीहरू पत्रकार मात्र थिएनन्, महिला मुद्दामा अध्ययन गर्ने सफल व्यक्तित्व पनि बनेका थिए। त्यस वेला अस्मितामा लेख छाप्नु आफैंमा निकै महत्त्वपूर्ण कुरा हुन्थ्यो।
महिला मुद्दाको वकालत गर्नेहरूका लागि अस्मिताले अहम् स्थान दिएको थियो। अहिलेसम्म पनि विभिन्न युवायुवतीले ‘हामी अस्मिता पत्रिकामा तपाईंका लेखहरू पढ्ने गर्थ्यौं’ भनेर मलाई भन्ने गर्छन्। त्यो पुस्ता नै अहिले ३० वर्ष कटिसकेको छ। यसको अर्थ अहिलेसम्म पनि अस्मिताको छाप त्यो पुस्तामा यथावत् रहेछ।
अस्मितामा छापिएका मेरो यात्रा, विभिन्न ठाउँमा भएका स्वास्थ्य शिविरको अनुभव, पोषण आदिका बारेका लेख अहिले पढ्दा र हेर्दा आनन्द लाग्छ। कतिपय लेखहरू त अहिले पनि त्यत्तिकै सान्दर्भिक छन्। मैले ती लेखहरूलाई समयोचित परिमार्जन गरेर विभिन्न ठाउँमा छाप्न दिएकी पनि छु।
कम्प्युटरमा टाइप गरेर लेख दिने चलन त्यस वेला थिएन। त्यसैले म हातैले लेखेर अस्मितामा दिन्थें। अनि त्यसलाई अस्मितामा कार्यरत कर्मचारीबाट टाइप गरेपछि सम्पादन गरिन्थ्यो। धेरै मेहनतको काम थियो। तर सम्पादकहरूले राम्रोसँग काम गरेकाले अस्मिताले एउटा उचाइ हासिल गर्न सकेको थियो। त्यहाँका थुप्रै साथीहरूलाई म अझै पनि सम्झन्छु। केहीसँग समय समयमा भेट पनि भइरहन्छ।
अहिले म यो लेखिरहँदा पनि अस्मिताका केही पुराना अंक मेरा सामु छन्। तिनीहरूका बीचबाट एकत्रित आवाजले भनिरहे झैं लाग्छ- हामी नयाँ रूपमा आउन चाहन्छौं!
अस्मिताको नयाँ आगमनलाई स्वागत र शुभकामना!
(याे संस्मरण अस्मिता हाम्रोबाट साभार गरिएको हो। कुमारी लामा, गीता त्रिपाठी र लक्ष्मी रुम्बाको सम्पादकीय नेतृत्वमा पुनः प्रकाशनमा आएको अर्द्धवार्षिक म्यागजिनका प्रकाशक महेश मास्के हुन्।)