दराजका उत्कृष्ट १४ विक्रेतालाई अवार्ड
अनलाइन किनमेल बजार दराजले उत्कृष्ट १४ विक्रेतालाई अवार्ड प्रदान गरेको छ।
ललितपुरको हेरिटेज गार्डेनमा आयोजित दराजको विक्रेता सम्मेलनमा उनीहरूलाई अवार्ड प्रदान गरिएको हो। उनीहरूलाई विशेष विधाका ट्रफीसँगै १० हजार रुपैयाँ बराबरको दराज भौचर र उपहार प्रदान गरिएको छ।
एफएमसीसीतर्फ सिटाफिल, फेशनतर्फ टाइटन अफिसियल, इलेक्ट्रोनिक्सतर्फ साओमी (भिट्सल इम्प्लेक्स) र लाइफस्टाइलतर्फ प्रोटिन नेपाल उत्कृष्ट विक्रेता बनेका छन्। त्यस्तै, पिपुल्स च्वाइस अवार्ड सुजना ज्वेलर्स, पर्फमेन्स एक्सिलेन्स अवार्ड कम्प्युटेक, मनैदेखि नेपाली अवार्ड जुभारा, लाइफटाइम अचिभमेन्ट अवार्ड आईईसी, सलर अफ द इयरको अवार्ड अल्टिमा लाइफस्टायल, टप न्यू एसएमई सेलरको अवार्ड विराट हेल्थक्येर इन्डस्ट्रिज, फ्री डेलिभरी लेजेन्डको अवार्ड पेबल्स नेपाल, ईएलपी एक्सिलेन्स अवार्ड आफ्नो पसल, फ्ल्यास सेल च्याम्पियनको अवार्ड ई-मेला र मस्ट एक्टिभ सेलरको अवार्ड युनिलिभरले प्राप्त गरेका छन्।
कार्यक्रममा दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेतालाई बधाई दिइन्। “विक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण विक्रेतामा आभार प्रकट गर्न चाहन्छु,” कुँवरले भनिन्, “दराज अहिले जहाँ छ, यो स्थानमा पुग्न तपाईंहरूको ठूलो हात छ र तपाईंहरू विना यो सम्भव हुँदैनथ्यो।”
कार्यक्रममा विभिन्न श्रव्यदृश्य सामाग्री प्रस्तुत गरेर विक्रेतालाई बिक्री र व्यवस्थापनबारे जानकारी दिइएको थियो। दराजका परिचालन अधिकृत विमल अर्यालले ई-कमर्शको महत्त्वबारे चर्चा गरेका थिए। त्यस्तै, व्यवसाय निर्देशक प्रबिन रुक्शानले दराजले नेपालका साना तथा मझौला उद्योगको विकासमा गरेको योगदानबारे चर्चा गरेका थिए।