भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउँदै सशस्त्र प्रहरी
जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका बासिन्दाका लागि अस्थायी आवास निर्माणमा सशस्त्र प्रहरी बल खटिएको छ।
सशस्त्र प्रहरीले हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ। जस अन्तर्गत चौरजहारी नगरपालिकामा नौ र त्रिवेणी गाउँपालिकामा सात वटा निर्माण गरिएका छन्।
विशेष गरेर एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, विपन्न र सुत्केरी महिलालाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। अहिलेसम्म एकल महिलाका लागि पाँच, अपांगता भएका व्यक्तिका लागि चार, ज्येष्ठ नागरिकका लागि तीन, बिरामी भएका व्यक्तिका लागि तीन, विपन्न तथा सुत्केरी महिलाका एक-एक वटा अस्थायी आवास निर्माण गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।
अस्थायी आवास निर्माणका लागि गत मंसीर २८ बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रूपमा बस्ने गरी तैनाथ गरिएको छ। यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने थापाले बताए।
त्यस्तै, मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग गर्न सशस्त्र प्रहरीको टोली परिचालन गर्न लागिएको छ।
भूकम्प प्रभावित जाजरकोटमा पनि आश्रित गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानीयका घरको भग्नावशेष हटाउने तथा चर्किएका घर भत्काउने काममा तीव्रता दिएको थापाले बताए। जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल प्रदान गरिएको छ।
यस्तै, भेरी नगरपालिकामा १००, नलगाड नगरपालिकामा ११८ र कुशे गाउँपालिकामा २५ स्थानका भग्नावशेष हटाइएको छ। चर्किएका आठ वटा घर भत्काइएको सशस्त्र प्रहरीले जनाएको छ।