३५ मिटर अग्लो चट्टान काट्न नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द गरिंदै
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारीसाधनको आवतजावत बन्द गरिंदै छ।
आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)ले जनाएको छ। भीर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो।
चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिनेछन्। नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइनेछ भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म चलाउन पाइनेछ।
काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ बजेसम्म तथा मालवाहक सवारीसाधन १०:४५ बजेसम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।
यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिनेछ। पहिलो चरणमा तीन साताका लागि सडक बन्द गरेर भित्ता काटिनेछ।
गत वर्ष भित्ता काटिएको भए पनि कडा चट्टानका कारणले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एक पटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए।
६० मिटर अग्लो पहाडको गत वर्ष २५ मिटर काटिएको थियो। अब बाँकी ३५ मिटर काट्न लागिएको आचार्यले बताए।
यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने गर्छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।