कांग्रेसलाई अन्तर्घातको रोग लागेको छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीमा अन्तर्घात गर्ने रोग लागेको बताएका छन्।
जनकपुरधाममा बिहीबार कांग्रेस मधेश प्रदेशको सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले अन्तर्घातका कारण कांग्रेस कमजोर भएको जिकिर गरे। “कांग्रेसलाई अन्तर्घात गर्ने रोग लागेको छ,” देउवाले भने, “अब पार्टीलाई यसबाट मुक्त गर्नुपर्छ।”
अन्तर्घातबाट मुक्त भए कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने उनको भनाइ थियो। आगामी चुनावमा अन्तर्घातको रोगबाट कांग्रेसलाई मुक्त गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
त्यस्तै, अहिलेको निर्वाचन प्रणालीले कुनै पार्टीले सजिलै बहुमत प्राप्त गर्न कठिन भएको उनले बताए। समावेशी प्रणालीले सबैको प्रतिनिधित्व भएको बताउँदै एउटै दलले बहुमत प्राप्त हुने सम्भावना कम रहेको उनको भनाइ थियो।
अहिलेको निर्वाचन प्रणालीले एउटा पार्टीलाई बहुमत ल्याउन कठिन भए पनि कांग्रेसलाई अन्तर्घात गर्ने रोगबाट मुक्त बनाउन सके बहुमत प्राप्त हुने उनको विश्वास थियो। त्यसका लागि मधेशमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
निधिको असन्तुष्टि
कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले भने आफ्नो मर्यादाक्रमलाई लिएर असन्तुष्टि जनाएका छन्। आफूलाई पूर्व उपसभापतिको मर्यादामा नराखेको भन्दै उनले मञ्चमा बस्न अस्वीकार गरे।
मञ्चमा नगएर सहभागी दीर्घामै बसेका विमलेन्द्र निधि।
उनलाई केन्द्रीय सदस्यका रूपमा मञ्चमा आसन ग्रहणका लागि बोलाइएको थियो। त्यसमा असन्तुष्टि जनाउँदै मञ्चमा नगई सहभागीकै दीर्घामा बसे।
त्यस्तै, कांग्रेस नेता डा. शेखर कोइराला सम्मेलनमा सहभागी भएनन्। सभापति देउवापछि दोस्रो वरीयतामा मञ्चमा स्थान नपाउने भएपछि उनी सम्मेलनमा नआएको कांग्रेस नेताहरूले बताए। उद्घाटन समारोहमा मञ्चमा आसन ग्रहणका लागि बोलाउँदा उनी सुनसरीको इनरुवामा थिए।