प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा दैनिक ३४ लाख खर्च
प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख खर्च भएको देखिएको छ।
अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको विदेश भ्रमणमा भएको खर्चको भुक्तानी दिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सहायता र अर्थ निकासाको विवरण अनुसार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका र चीनको औपचारिक भ्रमणमा जाँदा प्रधानमन्त्री दाहाल सहित प्रतिनिधिमण्डलले चार करोड ७४ लाख खर्च गरेको हो।
गत भदौ ३० मा प्रधानमन्त्री दाहाल राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका थिए। तर महासभामा उनको सम्बोधन असोज ४ गते मात्रै थियो।
अमेरिकाबाट सोझै चीनका लागि उडेका प्रधानमन्त्री दाहाल असोज ८ मा एशियाली खेलको उद्घाटन समारोहमा पुगेका थिए। त्यसको दुई दिनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग वार्ता गरेका दाहाल थप पाँच दिन चीनमै अलमलिएका थिए।
उनी असोज १३ गते मात्रै नेपाल फर्किएका थिए। प्रधानमन्त्री दाहाल विदेशमा फुर्सदिलो बनेर दुई साता हराएपछि उनको आलोचना भएको थियो।
दुई साता विदेश भ्रमण गर्दा प्रधानमन्त्री र भ्रमण दलको दैनिक खर्च सरदरमा ३३ लाख ८६ हजार रुपैयाँ भएको देखिएको छ। चीनको भ्रमण भने औपचारिक रहेकाले त्यहाँको आतिथ्य चीन सरकारले नै गरेको थियो।
अर्थ मन्त्रालयको विवरण अनुसार आर्थिक वर्षको शुरूआतका महीनाहरूमै रकमान्तर र स्रोतान्तर गरी भुक्तानी गर्न शुरू गरिसकिएको छ। रकमान्तर र स्रोतान्तर गरी खर्च गर्नुलाई असल बजेट अभ्यास मानिंदैन।
साउनदेखि मंसीरसम्म चार अर्ब ३२ करोड रुपैयाँ एउटा बजेट शीर्षकबाट अर्को बजेट शीर्षकमा रकमान्तर गरिएको छ। अर्थात्, यो संसद्ले अनुमोदन गरेको बजेटमा उल्लिखित कार्यक्रमभन्दा अन्यत्र गरिएको खर्च हो।
त्यसैगरी, बहुवर्षीय ठेक्काको स्रोत सहमतिका रूपमा पनि धमाधम खर्च गरिन थालेको छ। कात्तिक र मंसीरमा दुई अर्ब ७४ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ। बजेटमा उल्लेख नभएका र बजेट पनि नछुट्याइएका कार्यक्रमलाई तजबिजीका आधारमा बहुवर्षीय ठेक्का मानेर यस्तो रकम खर्च गर्न रकम विनियोजन गरिएको हो। यसरी तजबिजीमा खर्च गर्न छानिएका परियोजनामा अर्थमन्त्री प्रकाशशरण महत र राजनीतिक नेतृत्व जोडिएका छन्।
उदाहरणका लागि अर्थमन्त्री महतले गृहजिल्ला नुवाकोटको तिनपिप्ले-रानीपौवा सडकखण्डका लागि ४९ करोड ८९ लाख रुपैयाँ खर्च गर्न स्रोत सहमति दिएका छन्। त्यसैगरी, गँगटे-लब्धु-समुद्रटार सडकका लागि ३० करोड रुपैयाँको स्रोत सहमति दिइएको छ।