मध्यपुर यूथको कारबाही फिर्ता नलिएसम्म एन्फाका गतिविधिमा भाग नलिने ‘बी’ डिभिजन क्लबको चेतावनी
मध्यपुर यूथ एशोसिएशनलाई गरिएको कारबाही फिर्ता लिन ‘बी’ डिभिजनका सबै क्लबले माग गरेका छन्।
बिहीबार ‘बी’ डिभिजन क्लबका संयोजक कुमार राजभण्डारी नेतृत्वको टोलीले अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ। पत्रमा मध्यपुर यूथ एशोसिएशनमाथि गरिएको कारबाही फिर्ता लिन माग गरिएको छ।
एन्फाको पुस २ गते बसेको बैठकले मध्यपुर यूथलाई कारबाही गर्ने निर्णय गरेको थियो। एन्फा विधान विपरीतको कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्मका लागि एन्फाद्वारा आयोजना गरिने सबै गतिविधिमा मध्यपुर यूथलाई रोक लगाएको थियो।
त्यसको विरोध गर्दै ‘बी’ डिभिजन क्लबहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनीहरूले मध्यपुर यूथलाई गरिएको कारबाही फिर्ता नलिएसम्म एन्फाले आयोजना गर्ने सबै गतिविधिमा सहभागी नहुने घोषणा गरेका छन्।