कुस्माको ‘क्लिफ’
टिकटकले प्रसिद्ध बनाएको एउटा साहसिक खेल गन्तव्यमा अहिले देशभर र विश्वका बिभिन्न ठाउँबाट पर्यटक आइरहेका छन्।
सेल्फी खिच्ने ठाउँका रूपमा गत वर्ष टिकटकमा चर्चित भएको कुस्माको ‘द क्लिफ’ अहिले साहसिक खेलका लागि जानै पर्ने ठाउँ बनेको छ। देशका कुनाकाप्चाबाट र विदेशबाट समेत कालीगण्डकी नदीमाथि बनेको यस पुलमा पुगेर साहसिक खेल रुचाउनेहरू ‘बन्जी’ वा ‘स्वीङ जम्प’को मजा लिन्छन्।
५२० मिटर लामो र कालीगण्डकी नदीबाट २२८ मिटरमाथि अवस्थित यस झोलुंगे पुलले पर्वतको कुस्मा र बाग्लुङको बलेवालाई जोड्छ। चीनको मकाउ टावरपछिकै यो संसारकै दोस्रो अग्लो बन्जी जम्प मानिन्छ।
६० करोड रुपैयाँ लगानीमा स्थापित यस उद्यमका सञ्चालक हुन्, राजु कार्की। सिन्धुपाल्चोकका कार्की यसअघि भोटेकोशीमा अवस्थित ‘द लास्ट रेजोर्ट’ मा बन्जी प्रशिक्षक थिए।
आठ वर्षको उमेरमा बुबा गुमाएपछि राजुले आमा र बहिनीसँग हातेमालो गर्दै सिन्धुपाल्चोकमै होटल चलाए। “म साहसिक केटो थिएँ। मेरो गाउँ नजिकै बन्जी स्थापना भयो, मैले खोजेको पनि त्यस्तै उत्साही पल थियो,” अहिले उमेरले ४० पुगेका कार्की भन्छन्।
कार्कीले बन्जीको प्रशिक्षक बन्ने तालीम लिए। अनि बन्जी टोलीको नेतृत्व गर्ने नेपालीको पहिलो ‘ब्याच’ बने।
भोटेकोशीमा प्रशिक्षकका रूपमा काम गरेको सात वर्ष मात्रै भएको थियो। त्यही वेला कुस्माका केही व्यवसायी आफ्नो ठाउँलाई अर्को साहसिक खेल गन्तव्य बनाउने उद्देश्यले द लास्ट रेजोर्ट भ्रमणमा आएका थिए। युवावस्थाका कार्कीले त्यसलाई याद गरिरहेका थिए।
भोटेकोशीबाट उनको यात्रा पेरिसतर्फ मोडियो- बसाइ र कर्मक्षेत्रका रूपमा। दुई वर्ष उनले कला संग्रहालय हेल सेन्ट पिएरेमा काम गरे। उनको मस्तिष्कमा भने नेपालै फर्किने र आफ्नै व्यवसाय गर्ने भूत सवार थियो। त्यसले नै उनलाई फ्रान्स, बेल्जियम र स्वीट्जरल्यान्डमा बन्जीबारे प्रशिक्षण लिन हौस्यायो।
उनी कुस्मा घुमिसकेका थिए। भोटेकोशीभन्दा फराकिलो र गहिरो भएकाले कालीगण्डकीको त्यो खोंचले निकै आकर्षित पनि गरिरहेकै थियो। आफ्नो उद्यम स्थापना गर्न तयारी थाले। पहिला त कालीगण्डकीमाथि झोलुंगे पुल नै हाल्नुपर्ने थियो। “बन्जी जम्प गर्ने उद्देश्यले नै बनाइएकाले परम्परागत झोलुंगे पुलभन्दा हाम्रो पुल फरक थियो, किनकि यसमा खुड्किलाहरू पनि छन्,” कार्की पुलबारे भन्छन्।
यसपछि ‘द क्लिफ’ सञ्चालनमा आयो। कम्पनीका अनुसार यहाँ संसारकै अग्लो स्वीङ जम्प गर्न मिल्छ, जसको मोल सात हजार ५०० रुपैयाँ छ। बन्जीको मजा पनि यही मोलमा लिन सकिन्छ। स्काई साइकल र स्काई क्याफेको क्रमशः तीन हजार र दुई हजार ५०० रुपैयाँ पर्छ। स्वीङ र वाल क्लाइम्बिङको साहस त्यति लगाउन नपर्ने खेल पनि छन्।
“साहसिक खेलको खोजीमा नेपालीहरू बाली (इन्डोनेशिया) र अन्य ठाउँ जाने थाहा पाएपछि मलाई लाग्यो- नेपालमै पनि अझ रोमाञ्चक तरीकाले शुरू गर्न सकिन्छ,” कार्की भन्छन्।
‘द क्लिफ’ साढे तीन हेक्टरमा फैलिएको छ, १०० कर्मचारी छन् भने दैनिक ३०० आगन्तुक आउँछन्। रात बस्नका लागि क्लिफमा सुविधायुक्त टेन्ट र कटेजको व्यवस्था पनि छ।
अहिले यो उद्यम फक्रिरहेको भए पनि शुरूमा कोभिड-१९ को प्रभावले धेरै घाटा बेहोरेको थियो। “बन्दाबन्दीले पटक पटक खोल्न र बन्द गर्न बाध्य गरायो,” उनी सम्झिन्छन्, “त्यति वेला पनि कुस्मा क्लिफको मजा लिन आउनेहरूले भरिन्थ्यो।”
करीब ३० प्रतिशत विदेशी आगन्तुक हुन्छन्। जसले गर्दा यो एउटै उद्यमले कुस्मा शहरको अर्थतन्त्र उकास्न मद्दत गरेको छ। यसले पर्यटन व्यवसायमा नेपालमै अवसर छ र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्ने पनि पुष्टि गरेको छ।
कार्कीको टीमले आफ्नै रेस्टुराँमा खपत गर्न क्लिफको एक हिस्सामा स्थानीय बोटबिरुवा, फलफूल र तरकारी खेती पनि गरिरहेको छ। स्थानीय स्तरमै उत्पादित विद्युत् खपत वृद्धि गरेर नेपालले कसरी फाइदा लिन सक्छ भन्नका लागि पनि यो एउटा व्यावसायिक मोडल हो- क्लिफसम्म पुग्ने निःशुल्क शटल बस। यो विद्युतीय बस हो।
त्यस्तै यहाँ प्रयोग भएका निर्माण सामग्रीमा सकेसम्म स्थानीय स्तरकै उत्पादनलाई प्राथमिकता दिइएको छ। कार्कीले मेगा ट्रली, फेयरील्यान्ड र कन्फरेन्स हल समेत स्थापना गर्ने गरी विस्तारको योजना बनाइरहेका छन्। “मुख्य आकर्षण चाहिं कालीगण्डकी नदीमाथि २५५ मिटरमा अवस्थित स्वीमिङ पुल हुनेछ,” उनी आफ्नो योजना सुनाउँछन्।
(अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)