राष्ट्रिय सभा चुनावका लागि सात प्रदेशमा १४ मतदान केन्द्र
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतदान केन्द्र तोकेको छ।
आयोगले सातै प्रदेशमा एक-एक वटा मतदानस्थल र दुई-दुई वटा मतदान केन्द्र तोकिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेशमा जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र र बागमती प्रदेशमा हेटौंडास्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ब्लक ‘एफ’ लाई मतदानस्थल तोकिएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश सभा भवनमा मतदानस्थल तोकिएको छ।
प्रत्येक मतदानस्थलमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयर तथा प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तोकिएको प्रवक्ता पौडेलले बताए।
राष्ट्रिय सभाका १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ।